Logo

गण्डकी प्रदेश सरकारको बजेट खर्च ७२ प्रतिशत



कास्की, साउन ४ । आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले ७२ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकार बनेपछिका तीन आर्थिक वर्षमध्ये गत आर्थिक वर्ष गण्डकीमा सबैभन्दा धेरै बजेट खर्च भएको हो ।

प्रदेश सरकार गत आर्थिक वर्षमा ७१ दशमलव ९ प्रतिशत बजेट खर्च गर्न सफल भएको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयले बताएको छ । अघिल्लो आर्थिक वर्षमा ६३ दशमलव ७१ प्रतिशत मात्र बजेट खर्च भएको थियो । सरकारले खर्च गरेको ७२ प्रतिशतमध्ये २८ प्रतिशत अर्थात् करीब साढे ९ अर्ब रुपैयाँ असारमा मात्र खर्च गरेको हो ।

यद्यपि चैत, वैशाख र जेठमा भएका कामको भुक्तानी आर्थिक वर्षको अन्तिम महीनामा हुँदा खर्च बढी देखिएको प्रदेश लेखा नियन्त्रक कार्यालयलका प्रमुख इन्द्रप्रसाद पौडेलले बताए । आर्थिक वर्ष २०७७/७८ मा ३६ अर्ब २० करोड ८८ लाख ४ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा २५ अर्ब ७४ करोड १३ लाख ९१ हजार खर्च भएको पौडेलले जानकारी दिए ।

विनियोजित बजेटमध्ये पूँजीगततर्फ १७ अर्ब ६१ करोड ४४ लाख अर्थात् ७७ दशमलव ८९ प्रतिशत खर्च भएको उनले बताए । त्यस्तै चालूतर्फ भने ५९ दशमलव ७८ अर्थात् ८ अर्ब १२ करोड ६९ लाख खर्च भएको छ । प्रदेश सरकारले गत आर्थिक वर्षमा पूँजीगततर्फ २२ अर्ब ६१ करोड ३८ लाख ६४ हजार र चालूतर्फ १३ अर्ब ५९ करोड ४९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्