Logo

कांग्रेस महाधिवेशनः नेता बन्ने ‘लालसा’



काठमाडौं, साउन ६ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति घोषणा भएसँगै जिल्लाका वडा तहमा कांग्रेसीका चुनावी समीकरण बनिरहेका छन्। कांग्रेसको उपल्ला नेतृत्वको ‘जग’का रुपमा रहेका वडा तह हरेक नेताको राजनीतिक भविष्य निर्धारण गर्ने एकाइ बनेका छन्। अहिले जिल्लाका नेताहरूले वडाका सक्रिय सदस्यसमक्ष आफ्नो उपस्थिति बाक्लो बनाइरहेका छन्। त्यसो त, सक्रिय सदस्यता प्राप्त कांग्रेसीहरूलाई पनि नेता बन्ने लालसा पार्टीको १४ औँ महाधिवेशनले जगाइदिएको छ।

उनीहरू वडा समितिमा सीमित नभई क्षेत्रीय प्रतिनिधि बनेर वडा एकाइभन्दा पार्टीको उपल्लो नेता बन्ने लालसामा देखिएका छन्। पार्टीको महाधिवेशनको अहिलेसम्मको माहोलले हरेकलाई क्षेत्रीय प्रतिनिधि चुनिने सपना पलाएको छ। कांग्रेसका नेताहरू भन्छन्, ‘अहिले सम्म वडा समितिको नेतृत्व सम्हाल्ने इच्छा कसैले देखाएका छैनन्, जिल्लाका कुल १ सय वडाबाटै हरेकले क्षेत्रीय प्रतिनिधि आउने तयारी गरिरहेको देखिन्छ।’

कांग्रेसको जगका रुपमा वडा एकाइ समिति रहे पनि वडामा बसेर राजनीतिक उचाइ बढ्दैन भन्ने मानसिकता कांग्रेसीमा व्याप्त देखिन्छ। ‘वडाको एकाइ समितिमा को थन्किएर बस्छ रु,’ घोराही उपमहानगरपालिकास्थित एक वडाका वडा उपसभापतिले भने, ‘वडामै सीमित रहेर आफ्नो राजनीतिले उचाइ नलिने भएकाले क्षेत्रीय प्रतिनिधि चुनिएर पार्टीको उपल्लो तहमा सहभागिता जनाउने निर्णय लिएको छ।’

कांग्रेसको विधानतः वडा एकाइ समितिबाट क्षेत्रीय प्रतिनिधि चुनिए उक्त क्षेत्रीय प्रतिनिधि क्षेत्र, तथा जिल्ला नेतृत्व चयनका लागि मतदाता कहलिन्छ। मतदाता मात्रै नभई क्षेत्रीय समितिदेखि जिल्ला सदस्यसम्म बन्ने हैसियत क्षेत्रीय प्रतिनिधिको रहने भएकाले पनि अधिकांशलाई क्षेत्रीय प्रतिनिधि बनेर ‘नेता’ बन्ने लालसा जागेको जिल्लास्तरका नेताहरू बताउँछन्।

कांग्रेस क्षेत्र नम्बर २ ९प्रदेश क्षेत्र १० का सभापति गिरीराज सुवेदीका अनुसार क्षेत्रीय प्रतिनिधि चुनिएर आफ्नो राजनीतिक ‘ओज’ बढ्ने मानसिकता अधिकांश सक्रिय सदस्यहरूलाई बढेको देखिन्छ। ‘क्षेत्रीय प्रतिनिधि चुनिएको खण्डमा उपल्ला समितिको निर्वाचनमा मतदाताका रुपमा सहभागी हुन पाउने मात्रै नभई उम्मेदवारसमेत बन्न सक्ने हैसियत बन्छ नि उसको,’ सुवेदीले भने, ‘यसबाट आफ्नो राजनीतिक ओज बढ्ने अस्त्रका रुपमा क्षेत्रीय प्रतिनिधिलाई हेरिएको छ।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्