Logo

छोराको उपचारले निरन्तरता पाउने रोमाको विश्वास



महोत्तरी, ६ साउन । “हजुर, सहयोगी हात भेटेकी छु, अब छोराको उपचारले निरन्तरता पाउने आश जागेको छ”, महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगरकी ४० वर्षीया रोमा कार्कीले गहभरि आँशु पार्दै भनिन् । भारतको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा मस्तिष्कको नसासम्बन्धी उपचार भइराखेका १८ वर्षीय छोरा गौतम कार्कीको उपचारका लागि बर्दिबासमा सहयोगस्वरुप रु एक लाख ६७ हजार ४०० नगद पाएपछि बनीबुतो गरेर जीवनयापन गरिरहेकी रोमामा यो विश्वास पलाएको हो ।

बर्दिबासका सामाजिक सङ्घसंस्था र विभिन्न व्यक्तिले गौतमको उपचारका लागि सहयोग सङ्कलन गरेर परिवारजनलाई बुझाएका हुन् । रकम बुझेका आफन्तले सो रकम रोमालाई हस्तान्तरण गरेपछि उनलाई अब रकमकै अभावमा उपचार नरोकिने विश्वास बढेको हो ।

कक्षा–१२ मा पढ्दापढ्दै दुई वर्षअघि गौतमको टाउको दुख्ने, रिङ्गटा लाग्ने र ढल्ने लक्षण देखिएपछि उपचारका लागि काठमाडौँ पु¥याइएको थियो । चिकित्सकले मस्तिष्कमा नसासम्बन्धी समस्या भएको ठहरपछि गौतमलाई आफन्तले दिल्ली पु¥याएका हुन् । उपचारका क्रममा रकम अभावले आवश्यक औषधिको पनि चाँजो मिलाउन नसक्दा निरास बनेकी रोमा अब उपचारले निरन्तरता पाउने बताउछन् ।

“दुई दिनअघि प्राप्त रकम दिल्ली पठाइयो, अब छोरो फिर्छ भन्ने लागेको छ”, रोमाले घरमै पुगेका सञ्चारकर्मीसँग भनिन्, “म दुःखीको सहारा बन्नेलाई भगवान्ले हेर्नेछन् ।” दिल्लीमा छोराको उपचार खर्चकै अभावमा अघि बढ्न नसकेका बेला बर्दिबासमा प्राप्त सहयोगले आशाभरोसा बढाएको रोमाको भनाइ छ । “छोरा दुई वर्षदेखि बिरामी छ, म बनीबुतो (मजदुरी) गरेर जीवन धान्दै छु”, रोमाले सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै भनिन्, “ठाउँमा छ, अब खर्च पनि अलिकता जुट्यो, निको हुने आश जागेको छ ।” आपद् खेपिरहेकी आफूप्रति सद्भाव र स्नेह राख्ने सबै सहयोगीप्रति रोमाले आभार व्यक्त गरेकी हुन् ।

पति मीनबहादुर कार्कीको निधनपछि बनीबुतो गरेर दुई छोरा हुर्काएकी रोमाले गत वर्ष ठूलो बज्रपात खेप्नुभयो । कान्छो छोरा सविन कार्कीको रक्त क्यान्सरले मृत्यु भयो । जेठो छोरा नसासम्बन्धी असाध्य रोगले ग्रस्त भएर उपचार निरन्तर बढाउन रकम नभएपछि गाउँघरमा रोइकराई गरिरहेकी रोमालाई बर्दिबासका सामाजिक सङ्घसंस्थाले समन्वय गरेर सङ्कलन भएको रकम पठाएका हुन् ।

“सामाजिक सञ्जाल (फेसबुक) मा गौतमको अवस्थाबारे आएका कुरा पढेपछि मन थाम्न सकिएन”, नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाका कोषाध्यक्ष रेवन्त कार्की ‘सुदीप’ले भने, “तुरुन्तै सम्पर्क हुनसक्ने साथीहरुलाई खबर गरेँ, सामूहिक प्रयत्नबाट लगत्तै सङ्कलन भएको रकम परिवारजनलाई हस्तान्तरण ग¥यौँ ।” यो विषय थाहा पाएर तुरुन्तै गौतमको उपचारमा सहयोग पुगोस् भन्ने् हेतुले सङ्कलित रकम आफन्तलाई हस्तान्तरण गरिएको सुदीपले बताए।

गौतमको उपचार सहयोगार्थ बर्दिबासस्थित बर्दिबास हेल्प फाउण्डेशनले रु ५१ हजार, होटल विनायकले रु २१ हजार, प्रल्हाद क्षत्रीले रु १५ हजार, होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी, बर्दिबास उद्योग वाणिज्य सङ्घ, नेवाः सङ्घ, लुम्बिनी हार्डवेयर, रोटरी क्लब अफ बर्दिबास र उद्यमी कुमार भण्डारीले रु ११र११ हजार सहयोग गरेका छन् । त्यसैगरी रेडक्रस बर्दिबास उपशाखाका पदाधिकारी, होटल गुञ्ज र दीपक ट्रेडर्सले रु पाँच हजार १०० का दरले सहयोग गरेका मुख्य सहयोग सङ्कलन समन्वयकर्ता सुदीपले जानकारी दिए ।

सहयोस्वरुप प्राप्त रकम तत्काल पठाइएको र गौतमको उपचारका लागि थप गर्न सकिने सहयोगका लागि आपसी समन्वय बढाइने सुदीपको भनाइ छ । सुदीपले अत्यन्त गरिबी र वियोग खेपिरहेकी रोमाका छोराको उपचारमा सहयोग बढाउन सबै मनकारीसँग अपिल पनि गरेकी छिन् । अप्ठ्यारो बेला पाएको सहयोगले रोमा विभोर हुँदै भन्छिन्, “हजुरहरू सबैको आशिक लागोस्, उपचारपछि ठिक भएको छोरा हजुरहरुलाई भेटाउन ल्याउने छु । गौतमको उपचारमा खर्चको अभाव हुन नदिन बर्दिबासमा अन्य व्यक्ति र सामाजिक सङ्घसंस्थाले पनि चासो देखाएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्