Logo

वाणिज्यको बजार अनुगमनः ७५ प्रतिशत फर्म कारबाहीमा



काठमाडौं, साउन ७ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/७८ मा बजार अनुगमन गरेकामध्ये ७५ प्रतिशत व्यवसायी फर्म कुनै न कुनै जरिवाना वा कारबाहीमा परेका छन् ।

विभागले २०७७ साउनदेखि २०७८ असारसम्म उपत्यकाको विभाग र विभागअन्तर्गत देशभरका कार्यालयले अनुगमन गरेका पाँच हजार ७७९ वटा व्यवसायी फर्ममध्ये चार हजार ३०२ फर्म कारबाही वा जरिवानामा परेका हुन् ।

विभाग मातहतका कार्यालयले उक्त अवधिमा अनुगमन गरेकामध्ये एक हजार ३४७ वटालाई न्यूनतम पाँच हजारदेखि दुई लाख रुपियाँसम्म जरिवाना गरेको छ भने दुई हजार ४३८ वटामा म्याद नाघेका सामान नष्ट गर्ने र कागजात पेस गर्न निर्देशन दिएको छ ।

अनुगमन गरिएका व्यवसायी फर्ममध्ये ५१ वटाको सिलबन्दी गरिएको छ भने ४६६ वटा व्यवसायी फर्मलाई स्पष्टीकरण तथा बयानका लागि बोलाइएको विभागले जनाएको छ । यसैगरी विभागका अनुसार सो अवधिमा १९ वटा व्यवसायी फर्मविरुद्ध मुद्दा प्रक्रिया सुरु गरिएको छ ।

विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार ३४७ वटा व्यवसायी फर्मलाई जरिवाना गरेर झन्डै साढे तीन करोड रुपियाँ राजस्व सङ्कलन गरेको जनाएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७७र७८ मा साढे चार करोड बराबरको सामान नष्ट गरिएको छ । विभागले सो अवधिमा अनुगमन गरेर म्याद नाघेका त्यो मूल्य बराबरका सामान नष्ट गरेको हो ।

विभागले उपत्यकामा मात्रै तीन हजार ९७४ वटाको अनुगमन गरेकामा तीन हजार ११ वटालाई जरिवाना, कारबाही गरेको छ । जसमध्ये एक हजार ३५ वटालाई आर्थिक जरिवाना र एक हजार ५९७ वटालाई सुधारको निर्देशन र अन्य कारबाही गरिएको विभागले जनाएको छ ।

उपत्यकाबाहिर एक हजार ८०५ वटा व्यवसायी फर्मको अनुगमन गरिएकामा एक हजार १७१ वटा कारबाही तथा जरिवानामा परेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्