Logo

मौद्रिक नीतिका लागि लिइयो पूर्वगभर्नरसँग अन्तिम सुझाव



काठमाडौं, साउन ७ । विगतका वर्षझैं साउन लागेसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नुपर्नेमा चालू आर्थिक वर्षमा ढिलाइ भएको पूर्व गभर्नरहरूले औंल्याएका छन् ।

अर्थमन्त्री परिवर्तनपछि पुनः ल्याइने बजेटसँग मौद्रिक नीति अनुकूल हुनुपर्ने भए तापनि आफ्नो काम कर्तव्यबाट विचलित नभई चाँडो ल्याउन राष्ट्र बैंकलाई पूर्वगभर्नरहरूले सुझाएका छन् । राष्ट्र बैंकले आफ्नो स्वायत्तता नगुम्नेगरी नीति तयार पार्नुपर्नेमा समेत उनीहरूले जोड दिएका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको राष्ट्र बैंकले बुधवार पूर्व गभर्नरहरूसँग गरेको भर्चुअल छलफलमा यस्तो सुझाव आएको हो । पूर्वगभर्नरहरूले अहिलेको अर्थतन्त्रलाई कसरी हेरिरहेका छन् र अबको मौद्रिक नीति कस्तो हुनुपर्छ भन्नेबारे सुझाव लिइएको प्रवक्ता देवकुमार ढकालले बताए । ‘आ–आफ्ना पालामा मौद्रिक नीति बनाइसकेकाले उनीहरूसँग यसको अनुभव छ । यसैले कस्तो नीति बनाउन उपयुक्त हुने भन्नेबारे सुझाव माग्न छलफल गरिएको हो,’ उनले भने, ‘हामीले सुझाव लिने काम सक्यौं ।’ अर्थ मन्त्रालयसँग समन्वय गरेर अब जतिसक्दो चाँडो ल्याउँछौं ।’

विगतका वर्ष झैं यसपटक पनि साउन पहिलो सातातिर मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि अर्थमन्त्री परिवर्तन र बजेटमा थपघट हुने भएपछि ढिलाइ भएको बताइएको छ । सरकार परिवर्तन र बजेट नै संसद्मा भएकाले तत्काल मौद्रिक नीति नल्याउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई अर्थविद्हरूले पनि सुझाउँदै आएका थिए । तर राष्ट्र बैंक भने अर्थमन्त्रीको निर्देशनले मौद्रिक नीति ढिलाइ भएको भन्नेमा सहमत छैन । आफूहरूले आन्तरिक रूपमा मौद्रिक नीतिको काम गरिरहेको र अन्तिम तयारीमा रहेकाले यसलाई अर्थमन्त्रीको निर्देशनले ढिलाइ भएको भन्ने भनाइ यथार्थ नभएको प्रवक्ता ढकालले बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्