Logo

ठेक्काको म्याद १ वर्ष थप्न माग



काठमाडौं, साउन ७ । नेपाल निर्माण व्यवसायी महासंघले कात्तिक मसान्तसम्मलाई शून्य समय ‘कन्स्ट्रक्शन होलिडे’ मानेर निर्माणाधीन आयोजनाहरूको म्याद १ वर्ष थप्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेको छ । चालू आर्थिक वर्षको बजेटले ६ महीनाको म्याद थप्न भनेको तर कार्यान्वयन नभएका बेला महासंघले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर १ वर्ष म्याद थप्न आग्रह गरेको हो ।

बुधवार प्रधानमन्त्री देउवालाई महासंघका अध्यक्ष रवि सिंहसहितको प्रतिनिधिमण्डलले भेटेर यस्तो माग गरेको हो । भेटका क्रममा प्रधानमन्त्री देउवाले व्यवसायीहरूका मागहरू अध्ययन गरेर समस्या समाधान गरिने बताउनुभएको छ । कन्स्ट्रक्शन होलिडेपछि मात्रै सार्वजनिक निकायका अधिकारीले गरेको निर्णय मितिबाट गणना हुनेगरी सबै ठेक्कामा स्वतः १ वर्ष म्याद थप्न आग्रह गरिएको महासंघका अध्यक्ष सिंहले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा निर्माण आयोजनाहरूको ६ महीना म्याद थप हुने व्यवस्था गरिएको छ । तर, कोभिडको दोस्रो लहर, वर्षात्को मौसम, सिजनअनुसार हुने कार्य र त्यसपछिका चाडबाडका कारण आउँदो कात्तिकसम्म कन्स्ट्रक्शन होलिडे मानेर म्याद थपलाई अघि बढाउन आग्रह गरिएको उनको भनाइ छ ।

महासंघले धरौटी फिर्ता र भुक्तानीका विषयमा ध्यानाकर्षण गराएको छ । अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयनको माग गर्दै महासंघले पूरक बजेट ल्याइए त्यसमा पनि निर्माण व्यवसायीहरूको माग सम्बोधन गरिदिन आग्रह गरेको छ ।

महासंघले बजेटसँग सम्बद्ध म्याद थप, धरौटी रकम फिर्तालगायत विषयमा प्रधानमन्त्री देउवासमक्ष लिखित सुझाव पेश गर्दै कार्यान्वयनका लागि आग्रह गरेको सिंहले बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्