Logo

सन्थालको व्यवस्थित बस्ती बन्ने



काठमाडौं, साउन ८ । मोरङको उर्लाबारीमा सन्थाल जातिको व्यवस्थित बस्ती निर्माणका लागि ठेक्का सम्झौता भएको छ । अल्पसङ्ख्यक र लोपोन्मुख जातिको उत्थान गरी उनीहरूलाई व्यवस्थित र एकीकृत बस्तीमा बसाउने कार्यक्रमअन्तर्गत बस्ती निर्माणको सम्झौता भएको हो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय आयोजना कार्यान्वयन एकाइका प्रमुख गङ्गाप्रसाद यादवले मोरङको उर्लाबारी नगरपालिकास्थित रातोहोली खोल्सी किनारमा बस्ती निर्माण गर्न लागिएको जानकारी दिए ।
उनले भने, “सन्थाल बस्ती निर्माणका लागि सम्झौता भई ठेकेदार कम्पनीले कार्यादेशसमेत पाइसकेको छ ।

अब काम छिट्टै सुरु हुन्छ ।” यसअघि सो बस्ती निर्माणका लागि गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्पन्न भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष फागुन १८ गते सो बस्ती निर्माणको शिलान्यास गर्नुभएको थियो ।

एकाइ प्रमुख यादवका अनुसार अबको दुई वर्षभित्र सो एकीकृत बस्तीको निर्माण सम्पन्न हुनेछ । कुल लागत १८ करोड रुपियाँमा निर्माणको जिम्मा सगुनरशर्मा ९ज्वाइन्ट भेञ्चर० ले पाएको छ । अहिले नदी किनारामा ७० सन्थाल घरपरिवार नरकट र खरको छानाले बारेर बनाएको घरमा बसिरहेका छन् ।

बस्तीसँगै सामाजिक तथा आर्थिक पूर्वाधारअन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, सडक, खानेपानी, बिजुलीबती, मनोरञ्जन स्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, सामुदायिक भवनलगायतको संरचना पनि निर्माण गरिने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot