Logo

साउन ११ गते जसपा विवाद टुंगिने



काठमाडौं, साउन ८ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते सनाखतका लागि बोलाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित पाँच जना आयुक्तको संयुक्त इजलासले कार्यकारिणी समितिका सदस्यलाई साउन ११ गते बोलाएको आयोगले जनाएको छ र सोही दिन आयोगले फैसला पनि सुनाउनेछ । सक्कल नागरिकता र मतदाता परिचयपत्रको आधारमा अधिकांश कार्यसमिति सदस्य कसको पक्षमा रहेको निर्णय गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।सो पार्टीका आधिकारितासम्बन्धी विवादबारे टुंगो लगाउन हिजो दिनभर बहस भएको थियो । यादवको तर्फबाट वरिष्ठ अधिवक्ताहरू क्रमशः महादेवप्रसाद यादव, हरिहर दाहाल, वोर्णबहादुर कार्की, मिथिलेशकुमार सिंह, मुक्ति प्रधान, रमणकुमार श्रेष्ठ र अधिवक्ताहरू सुनीलकुमार पोखरेल, वीरेन्द्रकुमार ठाकुरले बहस गर्नुभएको थियो ।

अर्का अध्यक्ष महन्थको पक्षमा वरिष्ठ अधिवक्ता लक्ष्मणलाल कर्ण, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, सुरेन्द्रकुमार महतो, अधिवक्ताहरू केदारप्रसाद कोइराला, ओमप्रकाश सिंह र ईश्वरी भट्टराईले बहस गर्नुभएको थियो । प्रस्तुत प्रमाणमा दुवै पक्षका अधिवक्ताहरूले दुई–दुई घण्टा आ–आफ्नो पक्षमा बहस गरेका थिए । बहुमत केन्द्रीय सदस्य यादव पक्षको रहेको पार्टीको निर्णय, विधान पेस गरेपछि आयोगले केन्द्रीय सदस्यहरूलाई सनाखत गराई आधिकारिताको विवाद निरूपण गर्न लागेको बुझिएको छ ।यसअघि गत आइतबार भएको बहसपछि इजलासले दुवै पक्षलाई आ–आफ्नो सक्कल प्रमाण पेस गर्न आदेश दिएको थियो ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्