Logo

धनगढी बजारमा डुबानको समस्या बढ्दै



सुदुरपश्चिम, ८ साउन । बढ्दो शहरीकरणसँगै धनगढी बजार क्षेत्रका अधिकांश वडा सामान्य वर्षामा पनि डुबानमा पर्ने समस्या बढ्दै गएको छ । पानी निकासको उचित योजना बिना आफूखुशी संरचना निर्माण हुँदै जाँदा डुबानको समस्या बढ्दै गएको हो । यसबाहेक बजार क्षेत्र हुँदै उत्तरबाट दक्षिणतर्फ बग्ने साना ठूला खोलाको जग्गा मिचेर संरचना निर्माण गर्ने प्रवृत्ति देखिँदा पनि डुबानको समस्या बढ्दो छ । विगतमा खोलाको जग्गा मिचेर व्यक्तिका नाममा दर्ता गरिएका कारण खोलाको प्राकृतिक मार्गमा अवरोध पुग्दा पनि अहिले डुबान हुने गरेको स्थानीयवासीको भनाइ छ ।

खासगरी उपमहानगरपालिकाका बजार क्षेत्रका वडा नं १, २, ३, ४, ५, ७ र ८ का अधिकांश बस्तीमा डुबानको समस्या छ । “खोलाको प्राकृतिक मार्ग मिच्ने प्रवृत्ति बढ्दा पनि यसलाई रोक्न कसैको पहल नहुँदा अहिले डुबानको समस्या देखियो”, स्थानीयवासी भवानी भट्टले भने, “अग्लो भूभागमा जग्गा रहेकाले समेत पानीको निकासको व्यवस्था बिना आफूखुशी संरचना निर्माण गर्दा डुबानको समस्या थप बढेको छ ।”

खोला नाला मिचेर बनाइएका घर संरचना हटाउन नगरपालिका कार्यालयको लामो समयदेखिको पहल सफल हुन सकिरहेको छैन । उपमहानगरपालिका कार्यालयका इञ्जिनीयर दिव्यराज भट्टले गुरुयोजना बिनाको शहरीकरणसँगै डुबानको समस्या पनि बढ्दै गएको बताए। उनले भने, “विगतमा खोलानाला र तालतलैया मिचेर जग्गा व्यक्तिका नाममा दर्ता गर्ने प्रवृत्तिले नगरमा अहिले डुबानको समस्या बढेको हो ।” डुबानको समस्या आउन नदिन आवश्यक गुरुयोजनासहित ठूलो लगानीको योजना चाहिने उनी बताउछन् ।

नगरपालिका कार्यालयले सडकको स्तरोन्नति नगरेको र जमेको पानीको निकासको व्यवस्था नगरेको भन्दै धनगढी हसनपुर क्षेत्रका बासिन्दाले आफ्नो निवास अगाडिको हिलाम्मे सडकमै हालै धान रोपेर विरोध गरेका थिए । बजारको मुख्य सडकको वैकल्पिक सडकका रुपमा लिइएको क्याम्पस–चटकपुर सडक स्तरोन्नति कार्य निर्माणाधीन छ । एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत सो सडकको स्तरोन्नतिको काम भइरहेको छ । हाल उक्त सडक हिलाम्मे भएको र ठाउँठाउँमा पानी जमेपछि आवागमन असहज बनेको छ ।

सडक दायाँबायाँ गहिरो नालीसहित निर्माण भइरहेको सो सडकको स्तरोन्नतिपछि डुबानको समस्या केही हट्ने विश्वास गरिएको छ । यस्तै उत्तर–दक्षिण हुँदै अत्तरियादेखि धनगढीको मोहना पुलसम्म छ लेनको सडक निर्माणाधीन छ । दायाँबायाँ नाली,‘रेलिङ’ र ‘फुटपाथ’को व्यवस्थासहित यो सडकको स्तरोन्नति तथा निर्माण कार्य भइरहे पनि सडक आसपासका बस्तीमा जमेको पानी निकासका लागि उचित ध्यान नपु¥याइएको नगरवासीको भनाइ छ । रासस



प्रतिक्रिया दिनुहोस्