Logo

खोप प्रभावकारी सञ्चालनको तयारी



कञ्चनपुर, १२ साउन : कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि कञ्चनपुरमा खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने भएको छ । जिल्ला कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले साउन १३ गते देखि १९ गतेसम्म खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणमा भेरोसेल खोप साउन १३ गते देखि १६ सम्म र त्यसपछि ‘जोन्सन एण्ड जोन्सन’ खोप १७ देखि १९ गतेसम्म लगाउनका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ ।

सरकारले भेरोसेलको ३६ हजार र जोन्सन एण्ड जोन्सनको २७ हजार मात्रा खोप जिल्लामा आपूर्ति गरेको छ । आपूर्ति गरिएको खोपलगायतका आवश्यक सामग्री खोप केन्द्रमा पु¥याउने कार्य भइरहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख नरेन्द्रसिंह रावलले बताए ।

उनका अनुसार आपूर्ति भएको खोपमध्ये भेरोसेल खोप दिने लक्षित समूहमा ५५ वर्ष र सो माथि उमेर समूहका सबै नागरिकलाई लगाइने छ । यसका अतिरिक्त विश्वविद्यालय, विद्यालयका शिक्षक, कर्मचारी, बालविकास केन्द्रका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, खोप अनिवार्य गरको विदेशमा जाने नेपाली नागरिकलाई खोप लगाइने छ ।

यसैगरी, समुदायमा कोभिड– १९ सङ्क्रमणको जोखिम उच्च रहेका समुदायमा अटो रिक्सा चालक, उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी, निर्माण व्यवसायी सङ्घका पदाधिकारी, खेलकूद प्रशिक्षक, कर्मचारी र सैलुन सञ्चालक, इन्टरनेट सेवा प्रदायक र फलफूल तथा तरकारी व्यवसायीलाईसमेत सो खोप लगाइने छ ।

जेन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका कोभिड विरुद्ध पहिलो मात्रा लगाउन बाँकी सबै नागरिकलाई लगाइने छ । पूर्ण र अति अशक्त अपाङ्गता(वर्ग क र ख) भएका नागरिक, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी र कर्मचारी र पत्रकारलाई लगाइने छ ।

खोप दिने आधारका रुपमा उमेर समूहको हकमा उमेर खुल्ने आधिकारिक प्रमाण, सार्वजनिक यातायात चालक, सहचालक र अटो चालकको हकमा आधिकारिक परिचयपत्र र शिक्षक, कर्मचारीको परिचयपत्रका आधारम खोप दिइने छ ।

खोप अनिवार्य गरेको देशमा जाने नेपाली नागरिकको हकमा राहदानी र भिसाको आधारमा, पूर्ण अति असक्त नागरिकको हकमा नेपाल सरकारले जारी गरको प्रमाणपत्रको आधारमा, जोखिम उच्च रहेको समुदायको हकमा परिचय खुल्ने आधिकारिक संस्थाको परियचपत्रको आधारमा खोप दिने व्यवस्था मिलाइएको छ ।

कम्तीमा स्वास्थ्य संस्थास्तरसम्म खोप केन्द्र एवं आवश्यकताको आधारमा थप खोप केन्द्र स्थापना गरी अभियान सञ्चालनको प्रबन्ध गरिएको छ । एक खोप केन्द्रमा दुईजना स्वयंसेवक र लक्षित सङ्ख्याको आधारमा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था गरिएको छ ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्