Logo

अधिवेशनबारे अनिश्चितता बढ्नु पार्टी नेतृत्वको असक्षमता



काठमाडौं, साउन २० । सत्ताधारी दल नेपाली काग्रेसको महाधिवेशन अनिश्चित बने सँगै सिङ्गो पार्टीकै वैधानिकता माथि प्रश्न उब्जिरहेको बेला केन्द्रीय नेतृत्वलाई जिल्ला सभापतिहरुले नेतृत्वले उत्तम विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका नेता प्रशासमान सिंहको निवास ठमेलस्थित चाक्सीबारीमा मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय शीर्ष नेताहरु र राजधानीमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले क्रियाशील सदस्यता विवादले महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योल हुने पार्टी नेतृत्वकै असक्षमता भएको औंल्याएका हुन् ।कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद चुलिएसँगै महाधिवेशनको लागि पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइरहेको छ ।

महाधिवेशनको कार्यतालिकाअन्तर्गत यही श्रावण १२ गते देखि तल्लो तहको अधिवेशन शुरु गरिने भनिएको थियो । भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको कांग्रेसले १२ गते वडा, गाउँपालिका र नगरपालिका श्रावण १६ गते, प्रदेश क्षेत्रीय अधिवेशन श्रावण २० गते, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते गर्ने निर्णय गरेको थियो ।

तल्लो तहको अधिवेशन प्रभावित भएसँगै तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएको छ । कांग्रेसको ७५ वर्षको इतिहासमा महाधिवेशनलाई लिएर पार्टीको वैधतामाथि नै प्रश्न उठ्ने गरी राजनीतिक अवमूल्यन यसअघि कहिल्यै नभएको पनि सो बैठकमा चर्चा भएको छ ।बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा रामशरण महत, नेताहरु अर्जुन नरसिंह केसी, डा मीनेन्द्र रिजाल, बलबहादुर केसीलगाएतका नेताहरु थिए ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्