Logo

शुक्रबारभित्र मन्त्रीपरिषद् विस्तार भइसक्छः कांग्रेस नेता डा. खड्का



काठमाडौं, साउन २० । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले शुक्रबारभित्र मन्त्रीपरिषद् विस्तार भइसक्ने बताएका छन् । नयाँ सरकार बनेको तीन साता बितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार हुन नसकेको भनी प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेका बेला नेता डा. खड्काले यस्तो जानकारी दिएका हुन् ।

“नेकपा एमालेको माधव नेपाल पक्षको आन्तरिक छलफल, जनता समाजवादी पार्टीको आधिकारिकता विवाद, न्यूनतम साझा नीति र कार्यक्रम निर्माणका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको हो,” आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, “अब ढिलोमा शुक्रबासम्म नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, माधव नेपाल पक्षबीच उचित कार्यविभाजन मन्त्रिपरिषद् विस्तार भइसक्छ ।”

दलहरुबीच भागबन्डा नमिलेकाले मन्त्रिपरिषद् विस्तार नभएको भन्ने आरोपको उनले खण्डन गरे । सबै मन्त्रालय सुशासन, शान्ति सुरक्षा र देशको समग्र विकासका लागि भएकाले त्यसलाई ठूलो सानो, महत्वको र नमहत्व ठान्नु नहुने उनको भनाइ थियो ।
नेता डा. खड्काले सत्ता गठबन्धनका पार्टीको मन्त्री प्रधानमन्त्रीले छान्ने विषय नभएकाले आलोचना गरिहाल्न नहुने बताए । “गठबन्धनका सबै नेता अनुभवी हुनुहुन्छ । मन्त्रिपरिषद् विस्तारमा विलम्ब गर्दा के कस्तो असर पर्छ भन्ने उहाँहरुलाई थाहै छ । अब चाँडै निर्णय गर्नुहोला,” उनले थपे ।

सत्ता गठबन्धनले माधव नेपाल पक्षलाई पनि सरकारमा सामेल गर्न चाहेको उनले बताए । “हामीले माधव नेपाल पक्षलाई पनि सरकारमा आउनोस् भनिरहेका छौं । उहाँहरुले पार्टी एकता भएन भने मात्र सरकारमा जाने भन्नुभएको छ,” डा. खड्काले भने, “यो सरकार बनाउन सबैको योगदान छ । सबैभन्दा बढी त माधव नेपालकै भूमिका र योगदान महत्त्वपूर्ण छ । सम्भवतः आजभोलि नै निर्णय गर्नुहुन्छ होला ।”

उनले व्यक्तिगत क्षमताभन्दा पनि प्राविधिक र कानुनी कुरा पनि जोडिने भएकाले माधव नेपाल पक्ष सरकारमा सहभागी हुन समय लागेको बताए । “उहाँहरुको कुरा मैले गर्ने कुरा भएन । एमाले भित्र भए पनि बाहिर भए पनि सरकार र संसद्लाई निरन्तरता दिनेमा उहाँ स्पष्ट हुनुहुन्छ,” उनले भने, “हामीले भनेर उहाँ छिटो आउने होइन । त्यो कुरा सबैले मनन गर्नुपर्छ ।”

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीका गलत कामलाई उल्टाउन माधवकुमार नेपालको भूमिकाको उनले स्मरण गरे । कार्यक्रममा डा. खड्काले अपहरित लोकतन्त्रलाई सही दिशामा ल्याउने, संसद्लाई सक्रिय बनाउने, जनजीविका र राष्ट्रिय मुद्दालाई जोड दिँदै डेढ वर्षभित्र आवधिक निर्वाचन गराउनु देउवा सरकारको मुख्य लक्ष्य हुने उनले बताए ।

आफू परराष्ट्र मन्त्री हुने हल्ला सुनेको तर आफ्नो लक्ष्य देश र जनता समानतामा आधारित सामाजिक लोकतन्त्रका निम्ति निरन्तर लागिरहने उनको भनाइ थियो । “नेपाली कांग्रेसले भन्यो भने राष्ट्रिय जिम्मेवारी बहन गर्न तयार छु,” उनले भने, “भएन भने पनि यो सरकारलाई राम्रोसँग चलाउन सरकारभित्र रहेर या बाहिरको म भूमिका खेल्ने छु ।”

उनले २० दिनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १४ दिन माधवकुमार नेपालको निवासमा पुग्नुलाई स्वाभाविक भएको दाबी गरे । “ठाउँ महत्त्वपूर्ण होइन, आवश्यकता र औचित्यका आधारमा भेटघाट हुनु स्वाभाविक हो,” उनले भने । दार्चुला घटना छानबिनका निम्ति टोली पुगिसकेको र सरकार उसले दिएको प्रतिवेदन अनुसार अघि बढ्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्