Logo

नेपाली कांग्रेसको विगतदेखि बर्तमानसम्म : यस्तो छ महाधिवेशनको इतिहास



साउन २८, काठमाण्डौ । २००३ सालदेखि नेपाली राष्ट्रिय काँग्रेसको रुपमा यात्रा प्रारम्भ गरेर सङ्घर्षका अनेकौँ चरण पार गरिसकेको छ, नेपाली कांग्रेसले । २००३ सालको मजदुर आन्दोलनदेखी २०६२–६३ को जनआन्दोलन, संघीय गणतन्त्र नेपालको संविधान जारीदेखी कार्यान्वयनसम्ममा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस आन्तरिक राजनीतिक जिवनमा भने गुटको किचलो र अन्तरकलहमा फस्दै आएको छ ।

२००३ सालमा विराटनगरमा मजदुर आन्दोलनको सुरुवात गर्दा होस वा २००७ को क्रान्ति, २०११ को सत्याग्रह अनि २०१४ को भद्र अवज्ञा आन्दोलन, २०३३ को जनमत सङ्ग्रह, २०४२ को सत्याग्रह अनि २०४६ को ऐतिहासिक जनआन्दोलन अनि २०६२–६३ को लोकतान्त्रिक आन्दोलनदेखी गणतन्त्र स्थापनासम्म कांग्रेसले सधैँ नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । पार्टी स्थापनाको ७५ वर्षे यात्रामा कांग्रेसले देश र जनताका लागि गरेका राजनीतिक संघर्ष अनि यसबाट प्राप्त उपलब्धीहरु अनगिन्ती छन् । तर स्थापनाकालदेखीकै गुटगत राजनीतिले नेपाली कांग्रेसलाई सधै पिरोलेको छ । यो पार्टि भित्रको द्धन्द्ध सरकारको नेतृत्व र महाधिबेशनका बेला छताछुल्ल हुने गरेको छ ।

राणाकाल र पञ्चायतकालमा व्यवस्था परिवर्तनका लागि संघर्ष गरिरहँदा पनि नेपाली कांग्रेसभित्र गुटको टकराव थियो नै । तर, बाहिर छताछुल्ल भएका थिएनन् । चुनावी राजनीतिमा आएपछि २००७–२०१७ र २०४७ यता भने गुटबीच खुलेआम द्वन्द्व हुँदा कांग्रेसले ठूलै धक्का ब्यहोर्दै आएको छ । अहिले विभिन्न मितिमा घोषणा गरेर सर्दैआएको पार्टीको १४ औँ महाधिबेशनका क्रममा पार्टीभित्रका गुटगत द्धन्द्धहरु फेरि सतहमा देखिएका छन् । नेपाली कांग्रेसको महाधिबेशन कहिले हुने भन्ने अनिश्चित कायम रहँदा बैधानिकता मै प्रश्न उठ्दै गर्दा अहिले कांग्रेसको विगत बारे चर्चा समेत हुन थालेको छ ।

कांग्रेसले सम्पन्न गरेका १३ वटा महाधिबेशन, मिति र नेतृत्वमा उदाएका पात्रहरु

पहिलो महाधिवेशन : २००३ माघ १२ र १३ गते
भारतको कलकत्ता, भवानीपुरस्थित खालसा हाइस्कुलमा बोलाइएको सम्मेलनलाई २००६ साल चैत २७ गते नेपाल राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातान्त्रिक काङ्ग्रेसको एकिकरणबाट स्थापना भएको नेपाली कांग्रेसले पहिलो महाधिबेशन माािँदै आइएको छ । तत्कालीन अवस्थामा जेल जीवन बिताएका टङ्कप्रसाद आचार्य सभापतिमा र विश्वेश्वरप्रसाद कोइराला कार्यवाहक सभापतिमा निर्वाचित बनेका थिए ।

दोश्रो महाधिवेशन : २००४ माघ २० देखि २२ गतेसम्म
भारतको वनारसमा सम्पन्न महाधिवेशनबाट बिपी कोइराला सभापति निर्वाचित भए, उनी हिरासतमा भएकाले रिहाइ नभएसम्मका लागि डिल्लीरमण रेग्मीलाई कार्यवाहक सभापति बनाइएको थियो ।

तेश्रो महाधिवेशन ः वि.सं.२००५ फागुन १८ गते
भारतको बिहार राज्यको दरभङ्गामा सम्पन्न महाधिबेशनबाट मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बने । त्यतिबेला पनि विश्वेश्वरप्रसाद कोइराला हिरासतमै थिए ।

चौथो महाधिवेशन : २००६ साल चैत १७ गते
नेपाली राष्ट्रिय काँग्रेस र २००४ साल साउन १ मा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसबीच २००६ साल चैत २७ गते कलकत्तामा एकीकरण भएसँगै नेपाली कांग्रेसको स्थापना भयो । एकीकरणसँगै कलकत्ताको टाइगर हलमा पार्टीको चौथो महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति छानेको थियो । यहि महाधिबेशनबाट नेपाली कांग्रेसले पहिलो युगान्तकारि घोषणापत्र जारी गर्यो ।

पाचौँ महाधिवेशन : २००९ जेठ १० देखि १३ गतेसम्म
क्रान्तिको उपलब्धिको रक्षार्थ जनचेतनाको अभियान कै क्रममा जेठ १० देखी १३ सम्म जनकपुरमा नेपाली कांग्रेसको महाधिबेशन सम्पन्न भएको थियो । यो महाधिबेशनबाट विश्वेश्वरप्रसार कोइराला सभापति चयन भए । सरकार सञ्चालनका क्रममा पार्टी निर्देशन नमानेको भन्दै काठमाडौँको विशालनगरमा सम्पन्न वि.सं. २००९ साउन ८–२३ को पार्टीे विशेष महासमिति बैठकले प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ र महाविर शमशेर लगायतका नेतालाई कारबाही गरेपछि पार्टी फुटेको थियो ।

छैटौँ महाधिवेशन : २०१२ साल माघ
वीरगन्जमा सम्पन्न छैटौँ महाधिबेशनबाट सुवर्णशमशेर राणा पार्टी सभापतिमा निर्वाचित भए । यो महाधिवेशनले औपचारिक रुपमा समाजवादलाई अंगालेको थियो ।

२०१४ सालमा विशेष महाधिवेशन
आन्तरिक बिवादका कारण २०१४ सालमा विराटनगरमा विशेष महाधिवेशन भयो । यो विशेष महाधिबेशनले बिपी कोइरालालाई सभापतिमा, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा मनोनयन गरेको थियो ।

सातौँ महाधिवेशन : २०१६ बैशाख २५ देखि ३१ गतेसम्म
काठमाडौँमा सम्पन्न महाधिबेशनले वी.पी. कोइरालालाई पुनः पार्टीभापति बनायो । तर २०१७ साल पुस १ गते नेपाल तरुण दलको सम्मेलन स्थलबाट प्रधानमन्त्री कोइराला, मन्त्रीहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय तथा सभामुख कृष्णप्रसाद भट्टराई गिरफ्तार भए । तत्कालिन राजा महेन्द्रले आफ्नो महत्वकांक्षामा राजनीतिक पार्टिहरू बाधक भएको निष्कर्षसहित ०१७ साल पुस २२ गते सबै पार्टीमाथी प्रतिबन्धको घोषणा गरे । त्यसपछि झन्डै १९ वर्षसम्म तत्कालिन राजा र दलहरुबीच टकराब चल्यो, कांग्रेसले गरेको हतियारबन्द शसस्त्र आन्दोलनहुँदै सान्तिपूर्ण आन्दोलनकै दबाबमा २०३६ सालमा जनमत संग्रह भएको थियो ।

आठौँ महाधिवेशन : २०४४ साल माघ ३ गते
झापा कलवलगुडीमा सम्पन्न महाधिशेनबाट कार्यावाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भएका थिए ।

नवौँ, १० औ र ११ औँ महाधिवेशन
२०५३ सालमा काठमाडौंमा सम्पन्न महाधिवेशनमार्फत गरिजाप्रसाद कोइरालाले कांग्रेस सभापतिको नेतृत्व पाए । २०५७ मा पोखरामा सम्पन्न १० औँ महाधिवेशन र २०६२ मा ललितपुरमा सम्पन्न ११ औँ महाधिवेशनमा समेत कोइराला नै पार्टी सभापति बने ।

१२ औँ महाधिवेशन : २०६७ असोज १ देखि ५ गतेसम्म
नेपाली कांग्रेसको १२ औँ महाधिबेशन काठमाडौंको भृकुटीमण्डपमा २०६७, असोज १ देखी ५ गतेसम्म आयोजना भएको थियो । यो महाधिबेशनमार्फत शेरबहादुर देउवालाई पराजित गरेर सुशिल कोइराला सभापति बने ।

१३ औँ महाधिवेशन : फागुन २० देखि २३ सम्म
नेपाली कांग्रेसको १३ औँ महाधिबेशन २०७२ फागुन २० देखी २३ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा सम्पन्न भएको थियो । रामचन्द्र पौडेललाई पराजित गर्दै शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि अहिलेसम्म महाधिबेशन हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्