Logo

नासों गाउँपालिकाको सेवा प्रवाह अब धारापानीबाट



मनाङ, ९ भदौ । मनाङको नासों गाउँपालिकाले धारापानीबाट सेवा दिन थालेको छ । गत असार १ गते आएको बाढीपहिराका कारण उच्च जोखिममा परेपछि सो गाउँपालिकाको कार्यालय विस्थापित भएको थियो । त्यसपछि गाउँपालिकाले छिमेकी जिल्ला लमजुङको बँेसीशहरमा अस्थायी कार्यालय स्थापना गरेर अत्यावश्यक सेवा प्रवाह गर्दै आएको थियो ।

मस्र्याङ्दी नदीको सतह घटेपछि अहिले गाउँपालिकाले वडा नं–३ को धारापानीस्थित कार्यालयबाट सेवा प्रवाह गर्न थालेको छ । विस्थापित भएको गाउँपालिकाको सेवा धारापानीबाटै थालिएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । “गाउँपालिकाको भवन बाढीले पूर्ण रुपमा बगाएको छ । तर, वडा नं ३ को कार्यालयमा नै गाउँपालिकाको कार्यालय राखेर सेवा दिन थालेका हौँ । यसले स्थानीयवासीलाई सेवा लिन र दिन पनि सहज भएको छ”, उनले भने, “जिल्लासँग जोड्ने सडक सञ्जाल अझैसम्म बन्न सकेको छैन । जोखिम मोलेर स्थानीयवासी सेवा लिन लमजुङ पुग्नुपर्ने समस्याले चिन्तित बनेका थिए । नदीमा पानीको सतह घटेपछि जिल्लामै कार्यालय स्थानान्तरण गरेर सेवा प्रवाह गर्न थालेका छौं ।”

विद्युत् आपूर्ति सहज नभएको अवस्थामा पनि पालिकाले सौर्य ऊर्जाको प्रयोगबाट सेवा प्रवाह गर्दै आएको उनले बताए । बाढीपहिराले गाउँपालिकाको कार्यालयमा रहेका सबै कागजात बगाए पनि प्रविधिले आवश्यक तथ्याङ्क सुरक्षित रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताए । उनले भने, “बाढीले सम्पूर्ण कागजात बगाए पनि प्रविधिको प्रयोगले सुरक्षित छ । प्रविधिको प्रयोग नभएको भए विगतका पुराना तथ्याङ्कबिना काम गर्न सकिदैन थियो, यसले हामीलाई सहज बनाएको छ ।”

गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीले धारापानीस्थित नासों गाउँपालिकाको कार्यालयसँगै रहेको प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सीमा प्रहरीचौकी, पर्यटकीय होटलसहित स्थानीयवासीका केही घर बगाएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्