Logo

‘स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्छ’



काठमाडौं, ९ भदौ । कोभिड नियन्त्रणमा स्पा क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यस क्षेत्रलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

स्पा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘कोभिड नियन्त्रणमा स्पा क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शारीरिक र मानसिक स्वास्थ्यका लागि स्पा क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए ।

उनले भने, “स्पा व्यवसायीले मर्यादित ढङ्गले आफ्नो व्यवसाय सञ्चालन गर्नुहोस्, नेपाल प्रहरी यहाँहरुलाई सहयोग गर्न तयार छ ।” ठमेलभित्र अझै धेरै विकृति रहेको भन्दै उहाँले यस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

प्रहरी उपरीक्षक सिंहले जिल्ला प्रशासन कार्यालयको आदेशानुसार जिम्मेवार भएर आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै कोभिड नियन्त्रणका लागि नेपाल प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले स्पा व्यवसायलाई उद्योगका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । स्पा व्यवसाय अस्पतालपछि स्वास्थ्यका लागि दोस्रो अस्पताल भएको भन्दै उनले यसलाई स्वास्थ्यमापदण्ड पालना गरेर सञ्चालन गर्न पाउनुपर्नेमा उल्लेख गरे। कोभिडको मारमा स्पा व्यवसायी परेको उपाध्यक्ष शर्माको भनाइ थियो ।

परिषद्का महासचिव धुव्र अधिकारीले स्वास्थ्य मापदण्ड अपनाएर छिटो स्पा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए। उनले राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलमा सञ्चालित स्पा व्यवसायबाट एक हजार ५०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएको बताए ।

स्पा सङ्घ नेपालका अध्यक्ष शुभलाल थिङले स्पा क्षेत्रलाई पर्यटन स्वास्थ्यको रुपमा रुपान्तरण गर्नुपर्ने बताए । उनले कोभिड–१९ को महामारीमा व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर न्यूनीकरण गर्नका लागि स्पा थेरापीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्पा व्यवसायीद्वय केशव बस्नेत र रामदेव महतोले व्यवसाय सञ्चालनका लागि तयार पारेको कार्यपत्र प्रस्तुत गरेको थियो । विसं २०७८ मा स्थापना भएको स्पा सङ्घ नेपालमा ११ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्