Logo

विभागले खोपका लागि भण्डारण क्षमता बढाइँदै



काठमाडौँ, ९ भदौ । स्वास्थ्यसेवा विभागले खोप भण्डारण क्षमता बढाउने भएको छ । मोडर्ना र फाइजर खोपका लागि बढी चिस्यान चाहिने भएकाले भण्डारण क्षमता बढाउन लागेको विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले सामान्य तापक्रममा खोप राख्नका लागि १९ वटा वाकिङ कुलर तथा बढी चिस्यानमा राख्नका लागि ‘अल्ट्रा कूल चेन’ र ‘सुपर कूल चेन’ को भण्डारण क्षमता बढाउन थालिएको बताए ।

नियमित रुपमा खोप आइरहेकाले त्यसलाई राख्नका लागि भण्डारण क्षमता बढाउन थालेको विभागले जनाएको छ । नेपालमा लक्षित सबै वर्गलाई लगाउनका लागि कूल पाँच करोड २२ लाख मात्रा खोप ल्याउने तयारी रहेको छ । तीमध्ये अहिलेसम्म एक करोड २० लाख मात्रा खोप नेपाल आइसकेको छ ।

“मोडर्ना र फाइजर खोप बढी चिस्यानमा राख्नुपर्ने हुन्छ” उनले भने, “त्यसैले ती खोपलाई आवश्यक तापक्रम अनुसारको भण्डारण क्षमता बनाइने छ ।” ती खोपका लागि आगामी अक्टोबर महिनासम्म भण्डारण क्षमता विस्तार गरिसक्ने उनको भनाइ छ ।

मोडर्नालाई १५ देखि २५ डिग्री सेल्सियस र फाइजरलाई ७० देखि ८० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्दछ । मोडर्नाका लागि सुपर कूल चेन र फाइजरका लागि अल्ट्रा कूल चेनका भण्डार आवश्यक पर्दछन् । कोभिड–१९ खोप विज्ञ सल्लाहकार समूहका संयोजक डा श्यामराज उप्रेतीले सामान्य तापक्रमका लागि भण्डारण गर्ने क्षमता नेपालमा भएपनि अत्यधिक चिसोमा राखिने खोपका लागि भण्डारण क्षमता नभएकाले बनाउन थालिएको बताउनुभयो । फाइजर खोप ७० देखि ८० डिग्रिसेल्सियस तापक्रममा ६ महिनासम्म राख्न सकिन्छ । त्यसपछि दुई हप्तासम्म १५ देखि २५ डिग्री सेल्सियसमा राखेर एक महिनासम्म दुई देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्ने सकिने उनको भनाइ छ ।

उनले मोडर्ना र फाइजर खोप बाहिरबाट ल्याएर काठमाडौँमा मात्र भण्डार गर्न सकिने बताए । “ती दुई खोप यहाँ मात्र भण्डार गर्ने र यहाँ राखिसकेपछि मात्र प्रदेशमा पठाउने व्यवस्था गर्नुपर्दछ” उनले भने, “ ती दुई खोप राख्नका लागि त्यही अनुसारको तापक्रमको भण्डारण बनाउने तयारी भइरहेको छ ।”रासस



प्रतिक्रिया दिनुहोस्