Logo

खोपलाई प्राथमिकता दिन आग्रह



काठमाडौं, भदौ १५ । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाबाट बच्न खोप कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । नेपालमा भइरहेको खोप कार्यक्रम प्रभावकारी रहेकोसमेत डब्लूएचओको निचोड छ ।

स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश सम्भाजिरो पाण्डेले प्रभावकारी खोप कार्यक्रमले मात्रै कोभिड–१९ परास्त गर्न सकिने भएकाले नेपालले खोपलाई प्राथमिकता दिनुपर्ने बताए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालद्वारा मङ्गलबार आयोजित अन्तरक्रियामा उनले डब्लूएचओका ९५ प्रतिशत काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयनमा हुने गरेको चर्चा गर्दै कोरोना नियन्त्रणका लागि पनि नेपाल सरकारसँग मिलेर काम गरिरहेको बताएका हुन्।

उनले विश्व स्वास्थ्य सङ्गठनले तेस्रो मात्रा खोप लगाउन सिफारिस नगरेको स्पष्ट गर्दै भने, “पूर्ण खोप सबैले पाउनुपर्छ भन्ने पहिलो प्राथमिकता हो । कोभिड–१९ नयाँ रोग भएकाले यसबारे अध्ययन भइरहेको छ । गर्भवती महिलालाई पनि तेस्रो डोज खोप लगाउनुपर्ने आवश्यकता छ छैन, त्यसको जवाफ अझै आइसकेको छैन ।”

डब्लूएचओका अनुसार विश्वमा पाँच अर्ब मानिसले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका छन् । तीमध्ये न्यून आय भएका देशका एक दशमलव ६ प्रतिशत जनसङ्ख्याले मात्रै खोप लगाउन पाएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्