Logo

ईश्वर पोखरेलको नेतृत्वमा सक्रिय बन्दै एमालेका नेता–कार्यकर्ता



भदौ १६, काठमाण्डौ । नेकपा एमालेले भ्रातृ संगठनहरुलाई सक्रिय बनाउन थालेको छ । महासचिव ईश्वर पोखरेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रका भ्रातृ संगठनहरुसँग भेटघाट र छलफल गरेका छन् ।
छलफलमा नेपाल खेलकुद महासंघ काठमाडौं महानगरपालिका वडा नम्बर ५, अखिल नेपाल महिला संघ वडा नम्बर ५ र युवा संघ वडा नम्बर ५ का पदाधिकारी तथा सदस्यसँग भेटघाट गरेका छन् । भेटमा नेकपा केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवाल, संविधानसभा सदस्य रत्ना गुरुङ, युवा संघका केन्द्रीय सदस्य प्रेम दाहाल, वडा कमिटी अध्यक्ष वीरेन्द्र प्रजापति, एमाले स्थानीय नेता गणेश श्रेष्ठलागयतको उपस्थिति थियो ।

नेता सिलवालको संयोजकत्वमा पुनर्गठित जनवर्गीय संगठनको भेला आयोजना गरिएको हो । भेटमा महासचिव पोखरेलले पार्टी विभाजनका विषयमा कुनै कुरा राखेनन् । बरु महिला नेतृहरुलाई उद्यमशीलतामा लाग्न अभिप्रेरित गरे । ‘त्यसका लागि पार्टीको तर्फबाट सबै सहयोग हुनेछ,’ उनले भने, ‘प्रदेश र वडा कमिटीले तपाईंहरुलाई सहयोग गर्नेछन् ।’

कार्यक्रममा प्रदेश सांसद सिलवालले सबै किसिमका सहयोगको लागि आफू तयार रहेको बताए । उनले नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न हौसला दिए । कार्यक्रममा नेपाल खेलकुद महासंघ वडा नम्बर ५ का अध्यक्ष मनिष डंगोलले खेलकुदलाई प्राथमिकता दिन आग्रह गरे । त्यस्तै, युवा संघका वडा नम्बर ५ का अध्यक्ष सुशील प्रजापतिले युवालाई सीपमूलक काममा लगाउनुपर्ने बताए । त्यसैगरी, वडा कमिटी अध्यक्ष प्रजापतिले सबै किसिमका समस्या समाधानमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा अखिल नेपाल महिला संघकी वडा कमिटी अध्यक्ष हरिकला केसीले महिलालाई सबै क्षेत्रमा विशेष प्राथमिकता दिन आग्रह गरिन् ।



प्रतिक्रिया दिनुहोस्