Logo

विद्युतीय बस ल्याउँदै साझा



काठमाडौं, भदौ १८ । सरकारी पक्षबाटै भएका विभिन्न व्यवधानको सामना गर्दै साझा यातायातले सार्वजनिक विद्युतीय बस भित्र्याउने प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको पनि सेयर स्वामित्व रहेको साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने उद्देश्यले विद्युतीय बस खरिद गर्न लागेको हो ।

साझाले यसअघि नै विद्युतीय बस खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला सरकारले साझामा बस खरिदका लागि किनेको सेयरको रकम रोक्का गरेपछि बस खरिद प्रक्रिया प्रभावित बनेको थियो । पुनः सरकारले रकम फुकुवा गरेर बस खरिदका लागि बाटो खोलिदिएपछि साझाले टेन्डर प्रक्रियासमेत सम्पन्न गरेको छ ।

पेट्रोलको सट्टा विद्युत्का आधारमा बस सञ्चालन हुने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय बस खरिदलगायतका विषयमा चासो देखाएकी छन् । पुल्चोकस्थित साझा यातायातको कार्यालयमा बिहीबार पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधार विषयमा जानकारी लिएकी छन् ।

सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कणकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराउँदै सन् २०२५ सम्ममा अहिलेका पेट्रोल डिजेलबाट चल्ने बसलाई विस्थापित गर्नेगरी काम गरिरहेको बताएका छन् । उनले जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

उनले टेन्डर आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीनवटा विद्युतीय बस आइपुग्ने जानकारी गराएका छन् ।

मन्त्री भुसालले चार्जिङ स्टेसनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताएकी छन् । उनले पहिलो चरणमा ललितपुर र काठमाडौं महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् । मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रहसमेत गरिन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot