Logo

रंगशालामा फर्किएको खुसी



काठमाडौं, भदौ १८ । कोभिड–१९ का कारण केही समयदेखि नेपाली फुटबलका दर्शकले दशरथ रंगशालामा प्रवेश गर्न पाएका थिएनन् । बिहीबार नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा पनि दर्शकले प्रवेश पाउने विषय मंगलबारसम्म अन्योल थियो ।

अखिल नेपाल फुटबल संघले बुधबार दर्शकका लागि अनुमति लिएपछि मैत्रीपूर्ण फुटबल म्याच हेर्न केही हजार दर्शकले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला प्रवेश पाए । दर्शकले मास्क लगाएर नेपाली टिमको समर्थनमा हुटिङ गर्दा उत्साहित थिए । नेपाल फुटबल टिमले भारतसँग १–१ को बराबरी खेल्दै नेपाली दर्शकलाई निराश बनाएनन् ।

नेपालमा सर्वाधिक लोकप्रिय खेलका रूपमा रहेको फुबटल हेर्न दशरथ रंगशाला वरिपरि मानिसको बाक्लो उपस्थिति थियो । ५ हजार बढी दर्शक भित्र्याउने भनिएपछि दुईपटक कोभिडविरुद्धको खोप लगाएको हुनुपर्ने प्रावधान राखिएका कारण दर्शकको संख्या सोचेजस्तो हुन नसकेको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

बिहीबारको खेलमा करिब २५ सय दर्शकको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपस्थितिले म्याचमा रौनक थपिदिएको थियो । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टिमले दर्शकको साथ पाएर राम्रो प्रदर्शन गर्दै भारतविरुद्ध पहिलो गोल गरेको अध्यक्ष शेर्पा बताउँछन् । आइतबार हुने अर्को मैत्रीपूर्ण खेलमा दर्शकको उपस्थिति वृद्धि हुने अध्यक्ष शेर्पाले बताए ।

सन् २०१७ मा नेपाल भारतबीच मुम्बईमा भएको पछिल्लो मैत्रीपूर्ण खेलमा नेपाललाई भारतले २–० ले हराएको थियो । दशरथ रंगशालामा नेपाल र भारतबीच सन् २०१५ पछि पहिलोपटक प्रतिस्पर्धा भएको हो । त्यसैले पनि नेपाली दर्शक यो म्याच गुमाउन चाहँदैन थिए । नेपाल र भातरबीचको कुनै पनि खेलमा सबैको चासो हुने गर्छ । राजधानी दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्