Logo

विदेशीको ‘भेस्टेड इन्टरेस्ट’मा चीनसँगको सीमा विवाद सिर्जना गरियोः एमाले नेता



काठमाडौं, भदौ १८ । नेकपा एमालेका नेता खगराज अधिकारीले विदेशीको ‘भेस्टेड इन्टरेस्ट’मा चीनसँगको सीमा विवाद सिर्जना गरिएको आरोप लगाएका छन् । केपी ओलीको सरकारको पालामा गृह र परराष्ट्र मन्त्रालयले चीनले नेपाली भूमि मिचेको छैन भन्ने प्रमाणित गरिसकेको बताउँदै अधिकारीले यस्ता विषयले छिमेकीको सम्बन्धमा दरार ल्याउने दाबी गरे ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “यो ज्यादै अनुचित किसिमको विवाद हो । कांग्रेस नेता जीवनबहादुर शाहीले विदेशीको भेस्टेड इन्स्टरेस्टमा यो विषय उचालेको भन्ने स्पष्ट भइसकेको छ । उहाँ कोबाट सञ्चालित हुनुहुन्छ भन्ने थाहा भइसकेको छ । सन्तुलित परराष्ट्र नीति अपनाउने भन्ने अनि अनि चीनका सम्बन्धमा अनुचित कुरा गर्ने ? सरकार नगरेकालाई गर्यो भन्छ, गरेकालाई बोल्न सक्दैन । जयसिंह धामीको विषयमा किन बोल्न नसकेको ?”

नेता अधिकारीले आफू भारतविरोधी या चीन समर्थक नभएको दाबी पनि गरे । उनले भने, “छिमेकीका बीचमा उचाल्ने, पछार्ने या पक्षधरता लिने काम सन्तुलित विदेशनीति होइन । भारत या चीन कसैले पनि मिचेको एक इन्च सहन सक्दैनौं । भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच लिपुलेक हुँदै व्यापार सम्झौता गर्दा डिप्लोम्याटिक नोट पठाउने मै हुँ । न म चीनको समर्थक हुँ, न भारतको विरोधी हुँ । म नेपालको समर्थक हुँ ।”
उनले एमालेमा फेरि विवाद नभएको पनि बताए । उनले थपे, “अब तिललाई पहाड नबनाऊँ । पेल्ने नीति हिजो पनि थिएन । आज पनि हुँदैन । हामी हिजो माधव नेपालले पेल्दा बाहिर गएनौं, भित्रै बस्यौं । १० बुँदे सहमतिको कार्यान्वयन भइसकेको छ । कसैले पनि हाम्रो नेता केपी ओलीको पेलान खानुपर्दैन ।”
उनले कानुन व्यवसायीको भेलाको विवाद रुद्रप्रसाद नेपालको ढिलासुस्तीका कारण सिर्जना भएको र त्यसले समस्या नल्याउने दाबी गरे । उनले माधव नेपालले देशी विदेशी माखेसांग्लोमा परेर पार्टी चोइटाएको पनि बताए ।
एमसीसीमा एमालेले सरकारलाई सहयोग नगर्ने उनको भनाइ थियो । उनले भने, “त्यत्रो उपद्रो मच्चाएर २० प्रतिशत पनि नपुगी एमाले पार्टी फोडिदिने, सभामुखलाई षडयन्त्र गर्न लगाउने अनि एमसीसी एमालेले पास गरिदिनुपर्ने ? एमसीसीको पास-फेल हाम्रो सरोकार होइन । त्यो संसद्को बिजिनेस पनि होइन, किन र कसले बनायो त्यस्तो ? कतिपय प्रोभिजन सच्चाउँछ भने सहयोग पनि सक्छ ।” सत्तापक्ष र विपक्षीबीच सम्बन्ध सुधार हुनुपर्ने पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

Screenshot