Logo

राजमार्गमा विमान कार्यक्रम अलपत्र



काठमाडौं, भदौ १९ । मुलुकका राजमार्गमा आपत्कालीन अवस्थामा विमान अवतरण गराउने र उडान गर्नसकिने सरकारको महत्त्वकाङ्क्षी कार्यक्रम अध्ययनमै सीमित भएको छ । यससम्बन्धी अध्ययन प्रतिवेदन सडक विभागको दराजमा थन्किएको छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरिएको यो कार्यक्रम अध्ययनमै सीमित रहेको हो । अध्ययनले मुलुकका विभिन्न राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गका रूपमा विस्तार गर्न सम्भव रहेको देखाएको थियो ।

आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ‘राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गका रूपमा विस्तार गरिनेछ भनेर समावेश गरिएको थियो । सो वर्षको बजेट वक्तव्यपछि सरकारले यसबारे अध्ययन गर्न सडक विभागलाई निर्देशनसमेत दिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा प्रवक्ता केशवकुमार शर्मा सरकारको निर्देशनपछि सडक विभागले गरेको अध्ययनबाट विभिन्न राजमार्गका उपयुक्त खण्डलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गका रूपमा विस्तार गर्नसकिने सम्भावना देखिएको बताए । यो योजना अगाडि बढ्न नसकेको नसकेको उनको भनाई छ।

सडक विभागले आर्थिक वर्ष ०७६र७७ मा सो अध्ययन गरेको थियो । अध्ययन गरिएको दुई वर्ष बितिसके पनि नेपालको परिवेशमा एकदमै नयाँ मानिएको योे कार्यक्रम अगाडि बढ्न सकेको छैन । सडक विभागले गरेको अध्ययन प्रतिवेदनअनुसार जनकपुर–जटही, वीरगञ्ज–पथलैया, पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ, नेपालगञ्ज–कोहलपुर र बेलहिया–बुटवल सडक खण्डका ‘मेडियन’ हटाएर र छेउछाउका रुख काटेर आपत्कालीन धावन मार्गका रूपमा विस्तार गर्नसकिने सम्भावना देखिइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्