Logo

देउवा-पौडेल फेरि टकराव



काठमाडौं, २८ भाद्र । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फेरि टकराव बढेको छ । काँग्रेसको वडा तहको अधिवेशनमा सभापति र प्रतिनिधिहरु चयनको विषयलाई लिएर टकराव बढेको हो ।

अधिवेशन भएका जिल्लाहरुको वडाको समिक्षा देउवा र पौडेल दुवै पक्षले गरिसकेका छन् । देउवा पक्षले आफूहरुको पकड बनेको निष्कर्ष निकालेको बुझिएको छ । पौडेल पक्षले भने अधिवेशनमा धाँधली र जोडजर्बजस्तीका घटनाहरु भएको निष्कर्ष निकालेको बुझिएको छ ।

विशेषगरी देउवाको गृहजिल्ला डडेलधुराको विषयलाई लिएर पौडेल असन्तुष्ट भएका छन् । डडेलधुराका जिल्ला सभापति कर्ण मल्लको बहिष्कारका बाबजुद अधिवेशन गरिएको छ । क्रियाशील सदस्यता जथाभावी वितरण भएको निष्कर्ष पौडेल पक्षले निकालेको छ ।

आज अपरान्ह २ बजे पौडेल पक्षले अधिवेशनहरुको समिक्षा गर्न आफू पक्षीय केन्द्रीय कमिटी सदस्यको बैठक राखेको छ । बैठकमा महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह हेसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाललगायत नेताहरु सहभागी हुँदैछन् ।

पौडेलले अधिवेशनमा देउवा पक्षले चालेका कतिपय कदमहरुको समिक्षा गर्दै भावी रणनीति बनाउने भएको छ । आजको बैठकले काँग्रेसको घोषित १४औं महाधिवेशनलाई असर पार्ने गरी कदमहरु चाल्न सक्ने बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्