Logo

काँग्रेसको वडा अधिवेशनसम्म को कति बलियो



काठमाडौं, २८ भाद्र । नेपाली काँग्रेसको क्रियाशील सदस्यहरुको नामावली प्रकाशन भएको ५६ जिल्लाका वडा अधिवेशन सकिएको छ । अहिलेसम्म वडामा सभापतिसहित पदाधिकारी र प्रतिनिधिहरु चयनको अवस्था केलाउँदा कुनै पनि पक्ष बहुमतमा नभएको बुझिएको छ ।

काँग्रेसभित्र रहेका विभिन्न समूह र नेता विशेषले लगभगत कुनैपनि जिल्लाका वडा तहमा आफ्नो वर्चश्व बनाउन सकेनन् । काँग्रेसको विधान अनुसार वडाबाट चयन भएका सभापतिसहित प्रतिनिधिले नगर या गाउँपालिकामा सभापतिसहित पदाधिकारी चयन गर्न पाउनेछन् । वडा तहकै प्रतिनिधिबाट क्षेत्रीय सभापति र जिल्ला सभापति पनि चयन हुने व्यवस्था छ ।

वडाबाट प्रतिनिधि नहुनेले नगर या गाउँपालिका, क्षेत्रीय र जिल्ला सभापतिको उम्मेदवार बन्न पाउदैनन् । यसकारण वडा तहबाट चुनिएर आउने चुनौती काँग्रेसमा रहेको देखिन्छ । कतिपय जिल्लामा नगर र क्षेत्रका सभापति, महाधिवेशन प्रतिनिधिका दाबेदारहरु वडा तहमै पराजित भए ।

काँग्रेसमा वडा तहमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका रुपमा भन्दा पनि उनीहरु नजिकका नेता र कुनैपनि गुटमा जानसक्ने नेताहरु सक्रिय रहे । उनीहरु जतिसक्दो बढी प्रतिनिधि जिताउन लागे ।

देउवा पक्षको मत र पौडेल समूहको मत प्रतिनिधि तहमा आइपुग्दा खासंै अन्तर नभएको बुझिएको छ । काँग्रेसभित्र देउवा र पौडेल कुनैपनि समूहमा नरहेको गुटहरुको मत पनि उल्लेख्य बनिसकेको छ । अब निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयनले काँग्रेसमा कुन समूह प्रभावशाली रहेको तस्बिर देखिनेछ ।

अहिलेसम्मको काँग्रेसको चुनावी लहर हेर्दा देउवा पक्ष पहिलो नम्बरमा, पौडेल पक्ष दोस्रो नम्बरमा र त्यसपछि उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला चौंथो स्थानमा रहेका छन् । तर, देउवालाई साथ दिइरहेका विजयकुमार गच्छेदारले पनि प्रतिनिधि चयनसम्म प्रभाव बनाउन सकेका छन् ।

रामचन्द्र पौडेलको समूहमा रहेका स्वयं उनी, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतको पनि पकड छ । अब पौडेल समूहका कुनै एक नेताले गुट परिवर्तन गर्दा पनि यो समूह कमजोर हुनसक्छ ।

देउवालाई उपसभापति विमलेन्द्र निधिले साथ छाडेका छन् । निधिले साथ छाड्दाको क्षति भर्न उनले सिटौलाको साथ लिन सक्छन् । गच्छेदारलाई पनि साथमै राख्ने चुनौती छ ।

पौडेल समूहबाट सभापतिका धेरै आकांक्षी छन् । वडा अधिवेशनमा पौडेल समूहले मिलेर जाने निर्णय लिंदा देउवालाई केही घाटा परेको देखिन्छ । उनीहरु महाधिवेशन प्रतिनिधि चयन हुने क्षेत्रीय अधिवेशनसम्म यसरी नै एकतावद्ध भए देउवालाई अझ नोक्शान पर्न सक्छ । महाधिवेशनका दौरान पौडेल पक्षले साझा उम्मेदवार खडा गरेमा देउवालाई अझ चुनौती बढ्न सक्छ ।

तर, देउवाले पौडेल समूहका केही नेताहरुलाई साथमा लिने प्रयास गर्न सक्छन् । कोइराला परिवारका सदस्य, प्रकाशमान सिंह र सिटौलालाई तान्ने देउवाको प्रयास देखिन्छ । तर, त्यो सजिलो छैन । सबैलाई शक्ति बाँडफाँड गरेर जान खोज्दा देउवालाई आफ्नैले साथ छाड्न सक्छन् ।

अहिलेको अवस्थामा काँग्रेसमा फेरि सक्रिय भएको सिटौला समूह र निधि समूह नै निर्णायक बन्ने सम्भावना पनि बढेको छ । उनीहरु दुईले जस्लाई साथ दिन्छन् उसैको पल्लाभारी हुन्छ । यी दुईमध्ये एकले कुनै एक समूहको साथ पाएपनि मजबुत हुनसक्छन् । यसपटक तेस्रो र चौंथो धारका रुपमा देखिएका सिटौला र निधि नै निर्णायक शक्ति बनेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्