Logo

काँग्रेस सभापतिमा देउवा विरुद्ध कोइराला हुनसक्ने



काठमाडौं, २९ भाद्र । नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदै गर्दा वर्तमान सभापति शेरबहादुर देउवा अर्को कार्यकाल नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रने निश्चितप्रायः भइसकेको छ । देउवाले सार्वजनिक रुपमा सभापतिको उम्मेदवारी घोषणा गरेका छैनन् । तर, उनको सक्रियता त्यसैतर्फ केन्द्रित देखिन्छ ।

देउवाले सभापति दोहोराउन खोजेपछि उपसभापति विमलेन्द्र निधिले साथ छाडिसकेका छन् । निधिले आफै सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।

यसपटकको काँग्रेसको महाधिवेशनमा देउवालाई कस्ले मुख्य चुनौती दिने भन्ने चासो बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभापतिको दाबेदार छन् । उनले यसअघिको महाधिवेशनमा देउवाबाट पराजय व्यहोरेका थिए । उनी पक्षधर नेताहरु धेरैजनाले सभापतिको उम्मेदवार घोषणा गरेका छन् । यसकारण उनलाई यसपटक चुनौती छ ।

महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला र सुजाता कोइराला पनि सभापतिका दाबेदार छन् । अर्जुननरसिंह केसी, डा. रामशरण महत देखि कल्याण गुरुङ समेतले सभापति दाबी गरिरहेका छन् । यसले पौडेल पक्षमा साझा उम्मेदवारको चुनौती बढेको छ ।

कोइराला परिवारबाट साझा उम्मेदवारको प्रयास चलिरहेको छ । डा. सशांक कोइराला र डा. शेखर कोइराला सहमत भए सुजाता कोइराला पछि हट्न तयार छिन् । तर, उनीहरुबीच कुरा नमिले आफूलाई सहमतिमा साझा उम्मेदवारका रुपमा अघि सार्न आग्रह गरिरहेकी छिन् ।

१३औं महाधिवेशनका तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलाको पनि सभापतिमा दाबी छ । तर, उनी अन्तमा कुनै एक पक्षलाई साथ दिएर प्रभावशाली बन्ने रणनीतिमा देखिएका छन् । यसपटक पनि सिटौला निर्णायक शक्ति बन्ने दाउमा छन् ।

काँग्रेसको पछिल्लो राजनीतिलाई केलाउँदा देउवासँग कोइराला परिवारबाट नै मुख्य प्रतिष्पर्धी निस्कने सम्भावना बढेर गएको छ । कोइराला परिवारको साथमा अन्य कुनै उम्मेदवार अगाडि सर्ने सम्भावना कमजोर बन्दै गएको छ । प्रकाशमान सिंह रामचन्द्र पौडेल र कोइराला परिवार दुवैको साथ पाएर बढ्न खोजिरहेका छन् । तर, उनको प्रयास सफल हुने सम्भावना कमजोर देखिएको छ ।

देउवा प्रधानमन्त्री भएर शक्तिशाली बनेपछि सभापतिका लागि उनी नै बलिया प्रतिष्पर्धी देखिएका छन् । तर, कोइराला परिवार एकजुट भई अरु हस्ती नेताको समेत साथ पाएमा पास पल्टन सक्छ । महामन्त्री डा. सशांक कोइरालाले सभापतिबाट ब्याक नहुने बताइसकेका छन् । सम्भवतः उनी नै देउवाविरुद्ध मुख्य प्रतिष्पर्धी बन्न सक्छन् ।



प्रतिक्रिया दिनुहोस्