Logo

देउवासामु दुई महिनामै थेग्न मुश्किल चुनौती



काठमाडौं, २९ भाद्र । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिना बित्दा पनि मन्त्रिमण्डले पूर्णता पाएको छैन । ४ मन्त्री र एक राज्यमन्त्रीलाई साथमा लिएर देउवाले सरकार सञ्चालन गरिरहेका छन् ।

सरकार बनेको दिनदेखि मन्त्रिमण्डल विस्तार हुने चर्चा चलेपनि अझै हुन सकेको छैन । बरु सरकार एकपछि अर्को चुनौतीको पहाड बोक्न पुगेको छ ।

बजेट संशोधन गरी ल्याइएको प्रतिस्थापन बजेट संसदबाट पारित हुन सकेको छैन । बरु प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अवरोध गरेर टकरावको स्थिति बनेको छ । ३० भाद्रबाट देश बजेटविहिन भएको छ । संशोधित बजेट पारित नहुँदा सरकारले खर्च गर्न पाउनेछैन । यो अवस्था कहिलेसम्म जाने हो निश्चित छैन ।

सरकार बनेपछि नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेका छन् । अध्यादेशबाट दुई दल फुटेपनि तयो अझै निष्कृय भएको छैन । अध्यादेश निष्कृय नहुँदा माओवादी, नेकपा एस र जसपाले नयाँ मन्त्रीको नाम दिन मानेका छैनन् । मन्त्रीको नाम दिंदा असन्तुष्ट समूहले विद्रोह गर्ने डर दलहरुलाई छ । २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले विद्रोह गरेमा दल फुट्न सक्ने अवस्था छ ।

अहिले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका कारण सत्ता गठबन्धनभित्र विवाद बढाएको छ । काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ । नेकपा माओवादी केन्द्र र नेकपा एस संशोधनविना पारित गर्न नहुने पक्षमा छन् । जसपा पारितको पक्षमा देखिन्छ तर खुलेको छैन । एमसीसीका कारण सत्ता गठबन्धनभित्र नयाँ संकट ल्याउन सक्छ । गठबन्धन टुट्न पनि सक्छ ।

एमसीसीकै विषयमा नेत्रविक्रम चन्द विप्लवले चेतावनी दिएका छन् । उनले एमसीसी पारित गर्न खोज्नेका जीवनको ख्याल गर्न चेतावनी दिएपछि तरंग आएको छ । यो देश मुठभेडमा जानसक्ने संकेत पनि हो ।

चीनसँगको सीमा समस्याको विषय उठेको छ । सरकारले सीमा समस्या अध्ययन गर्न कमिटी बनाएको । यसप्रति सत्ता गठबन्धनभित्र असन्तुष्टिका विषय पनि आएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अनुसार मन्त्रिपरिषदबाट निर्णय भई कमिटी गठन भई काम पनि गरिरहेको छ ।

सीमा समस्या अध्ययनका लागि गठित कमिटीप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखिसकेका छन् । उनले चीनसँग कुनै सीमा समस्या नभएको जिकिर गरे । यो विषयले पनि देशभित्र दलहरुभित्र चीनलाई हेर्ने दृष्टिकोणमा ठूलो मतान्तर खुलेको छ ।

ओलीलाई हटाएर देउवाले गठबन्धनको सरकार बनाउन सफलता हासिल गरेपनि उनी चुनौतीको पहाड सामुन्न उभिएका छन् । एकातर्फ देशमा विभिन्न राजनीतिक संकटहरु बढिरहेका छन् ।

अर्कातर्फ, काँग्रेस महाधिवेशनमा होमिइरहँदा उनलाई अर्को चुनौती बढेको छ । देउवा भाग्यले सत्तामा पुग्ने गरेका छन् । तर, उनका सामु सत्तामा पुगेपछि अनेकन दुर्भाग्यशाली चुनौती थोपरिने गरेको विगत इतिहास छ । यसपटक पनि त्यही चुनौती र दुर्भाग्य दोहोरिने खतरा बढेको छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्