Logo

भीम रावलले दिए ओलीलाई चुनौती



काठमाडौं, ३० भाद्र । ‘राजनीतिमा आफ्नो र अर्काको नहुने’ भीम रावलले भोगेका छन् । उनले सुदूरपश्चिम पुगेर आफूलाई ज्यान दिन्छु भन्नेहरुले साथ छाडेको गुनासो पोखे । रावलकै पहलमा प्रदेशसभामा टिकट पाएर जितेका र समानुपातिकमा समावेश भएकाहरुले साथ छाडेका हुन् । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इञ्चार्जका रुपमा रावलले निकटस्थहरुलाई टिकट दिलाएका थिए । तर, ती मध्ये अधिकांशले रावलको साथ छाडे ।

रावलका कारण तत्कालीन नेकपा हुँदै नेकपा एमालेको विवादमा अध्यक्ष केपी शर्मा ओलीविरोधी समूह सुदुरपश्चिममा बलियो स्थितिमा थियो । देशभरका प्रदेशमध्ये सुदूरपश्चिममा मात्र ओलीविरोधी समूह बलियो थियो । एमाले फुटेर नेकपा एस बन्दा रावल पार्टी छाड्न तयार भएनन् । तर, रावलले माधव नेपालको साथ छाडेपनि धेरै उनीनिकटस्थले माधव नेपाललाई नै साथ दिए । कतिपय प्रदेशमा मन्त्री बन्न सफल भए ।

सुदूरपश्चिममा रावलका कारण माधव नेपाल बलियो भए । तर, अहिले रावल नै कमजोर देखिएका छन् । एमाले सुदूरपश्चिममा पहिलो ठूलो दलबाट झरेर चौंथो स्थानमा पुगेको छ । नेकपा एस सबैभन्दा ठूलो दल बनेको छ । त्यसपछि माओवादी र काँग्रेस छन् । यसले रावललाई धक्का पुगेको छ ।

एमालेमा रावल उपाध्यक्ष छन् । तर, सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्ट कायम रहेको ओलीको निर्णय छ । त्यसलाई उनी मान्न तयार छैनन् । १० बुँदे सहमति हुबहु कार्यान्वयनमा जोड दिदै २ जेठ २०७५ को अवस्थामा पार्टी संरचना कायम राख्ने भनिएकाले आफू नै इञ्चार्ज रहेको रावलको दाबी छ । उनले मङ्गलबार धनगढी पुगेर आफू नै इञ्चार्ज भएको बताए । ओलीलाई गृहक्षेत्रबाट चुनौती दिए ।

रावलले पेलेर जान खोजे कडा रुपमा प्रस्तुत हुने समेत बताए । उनले पेलाई मान्य नहुने भन्दै आफू विभाजनसँगै पेलाईको विरुद्ध संघर्षमा रहेको बताए । यसले एमालेभित्र ओली र रावलबीच नयाँ द्वन्द्व चलेको छ ।



प्रतिक्रिया दिनुहोस्