काठमाडौं । जेनजी जनआन्दोलन तथा अन्तरिम सरकार निर्माण वार्ता समितिका सह–संयोजक अर्जुन शाहीले राष्ट्रप्रेम, राष्ट्रिय स्वाभिमान, एकता र परिवर्तनको सन्देश बोकेका पाँचवटा देशभक्तिपूर्ण गीत सार्वजनिक गरेका छन्।
नेपाली माटोप्रतिको माया, राष्ट्रिय पहिचान र नेपाली हुनुको गौरवलाई सङ्गीतमार्फत अभिव्यक्त गर्ने उद्देश्यले गीतहरू सार्वजनिक गरिएको शाहीले बताएका छन्।
गीतमार्फत युवापुस्ताको भावना, राष्ट्रिय एकता र समृद्ध नेपालको परिकल्पनालाई उजागर गर्ने प्रयास गरिएको छ।
शाहीले सार्वजनिक गरेका पाँच गीतमा ‘देशले के माग्यो र ठूलो’, ‘सधैँ बाँचिरहोस् मेरो नेपाल’, ‘नेपाल आमा तिमीलाई नमस्कार’, ‘देशबिनाको तिमी को हौ’ र ‘आफ्ना लागि देशलाई कहिल्यै बलि नचढाऊ’ रहेका छन्।
गीतहरूमा देशप्रतिको समर्पण, राष्ट्रिय पहिचान, नेपाली जनताको त्याग र परिवर्तनका लागि युवाहरूले देखाएको साहसलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। साथै, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा एकजुट हुनुपर्ने सन्देशसमेत गीतमार्फत दिन खोजिएको छ।
जेनजी जनआन्दोलनले उठाएका सुशासन, जवाफदेहिता, राष्ट्रिय हित र सकारात्मक परिवर्तनका आकाङ्क्षालाई सांस्कृतिक तथा सिर्जनात्मक माध्यमबाट जनतामाझ पुर्याउने उद्देश्यले गीतहरू सार्वजनिक गरिएको बताइएको छ।
सङ्गीतलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी राष्ट्रिय चेतना, सामाजिक एकता र देशप्रेम जगाउने माध्यमका रूपमा प्रयोग गर्ने शाहीको प्रयासले नेपाली युवादेखि आम नागरिकसम्म राष्ट्रप्रतिको जिम्मेवारी र स्वाभिमानको भावना जागृत गराउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया