Logo

‘देउवालाई फेरि सभापति उठ्न कसले रोक्न सक्छ?’



काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले शेरबहादुर देउवालाई सभापतिको उम्मेदवार हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । नेतृत्व हस्तान्तरण विधि र प्रक्रियाबाट हुने भएकाले इच्छाले मात्र नहुने उनको तर्क छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने, ‘नेतृत्व कसैले कसैलाई दिएर दिइने कुरा होइन । यो हस्तान्तरण गरेर गरिने कुरा पनि होइन । देउवा ५१, ५२ वर्षमै प्रधानमन्त्री बन्नुभएको हो । यो टीका वा आशीर्वादले पाउनुभएको होइन ।

उहाँ संघर्ष र प्रक्रियाबाटै प्रधानमन्त्री बन्नुभएको हो । उहाँ प्रधानमन्त्री भएपछि गिरिजाबाबु, किसुनजी फेरि पनि प्रधानमन्त्री आउनुभयो । युवा आउनुहुन्न भन्ने पनि होइन, बूढाहरु बाहिर बस्नैपर्छ भन्ने पनि होइन । पार्टीम युवा पनि रहन्छन्, बूढा पनि रहन्छन् । समयको कुरा हो । प्रतिस्पर्धा गर्ने अधिकार सबैको छ । देउवाको पनि अधिकार छ । तर जित्नेले नेतृत्व पाउने हो ।’

आफू सदस्य रहेको रमेश लेखक समितिले डडेल्धुराको क्रियाशील सदस्यताको नामावली सहमतिबाटै टुंग्याएको औंल्याउँदै घिमिरेले यसमा विवाद झिक्नु आश्चर्यजनक भएको बताए । उनले थपे, ‘हाम्रो समितिले सहमतिबाटै सबै कुरा टुंग्याएको हो । यसको निर्णय बहुमत र अल्पमतबाट भएको होइन । पेलेर गरेको पनि होइन । रामचन्द्र पौडेललाई सबै जानकारी नभएको हुन सक्छ वा फरक ढंगले जानकारी गराइएको हुन सक्छ ।

हाम्रो समितिले टुंग्याउन नसकेको कुरा कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक रहेको छानबिन समितिले टुंग्याएको हो । ठूलो काम गर्दा सबैलाई न्याय भयो होला म भन्दिनँ । तर जति पनि निर्णय भएका छन्, ती सहमतिबाटै भएका हुन् । समितिमा पार्टीभित्रका सबै समूहको प्रतिनिधित्व छ । चित्त बुझ्ने, नबुझ्ने आफ्नो ठाउँमा छ । तर अहिले आएर किन प्रश्न उठेको हो रु म छक्क परेको छु ।’

अहिले महाधिवेशनको विकल्प नभएकाले नेताहरुले विवादभन्दा सहमतिमा बाटो तय गर्नुपर्ने उनको धारणा छ । उनले भने, ‘५७ जिल्लामा वडा अधिवेशन भइसक्यो । अब १३ जिल्लामा क्रियाशील सदसयता विवाद बाँकी छ । त्यो पनि आज बेलुकीसम्म सम्पूर्ण सार्वजनिक भइसक्छ । कृष्ण सिटौलाको तीन सदस्यीय समितिले पार्टी कार्यालयलाई र पार्टी कार्यालयले निर्वाचन समिति पठाउँछ । अब पनि महाधिवेशन गर्न सकेनौं भने पार्टी कसरी चलाउने?’

सत्तागठबन्धन अहिलेकै जस्तो अनिर्णयको बन्दी बनिरहने हो भने चुनावको विकल्प नभएको उनले बताए । उनले थपे, ‘केपी ओली दुई तिहाइको सरकार चलाउन नसकेर फेल हुनुभयो । अहिले देउवाले पाँच वटा पार्टी मिलाएर (त्यो पनि पार्टी फुटाएर बनेको) को सरकार बनाउनुपरेको छ, संसद्मा हाम्रो पार्टीको जम्मा ६१ सिट छ । हाम्रो चाहना हुनेसम्म लचक भएर संसद् पूरा अवधि चलोस् भन्ने हो तर केही लागेन भने चुनावमा जानुको विकल्प छैन ।’

सरकार छाड्नु परेको कुण्ठामा एमालेले संसद् अवरोध गरेर मुलुकलाई बन्धक बनाएको उनको आरोप छ । उनले थपे, ‘एमालेलाई थाहा छ, हामीले कहिल्यै संसद् बन्द गरेनौं । त्यसैकारण सञ्चारमाध्यमदेखि प्रधानमन्त्रीसम्मले प्रतिपक्षी खै भन्थे । हामीले चुपचाप बसेर सरकारलाई काम गर्ने वातावरण दिएका थियौं । तर उहाँहरुले कामै गर्न दिनुभएको छैन ।’ एमालेले लोकतान्त्रिक चरित्र नदेखाएको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्