Logo

राजनीति गतिरोधको एक मात्र निकास निर्वाचन होः कांग्रेस नेता पौडेल



काठमाडौं, असोज १ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिक गतिरोध बढ्दै गएकाले एक मात्र निकास निर्वाचन भएको बताएका छन् । दलहरुको सहमतिमा छिटोभन्दा छिटो निर्वाचनमा जानु उपयुक्त हुने उनको भनाइ छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “गठबन्धन सरकार बने पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । त्यसैले जनताको आशा जाग्ने गरी काम हुन सकेको छैन । सरकारको प्रभावकारिता भएन भने निर्वाचनमा साेझै असर गर्छ । गठबन्धनभित्र सहमति हुन नसकेका कुरा पनि छन् । संसद् अवरुद्ध छ या बजेटबारे समझदारी हुन सकेको छैन । यो खालको  राजनीतिक गतिरोध फुकाउन तत्काल निर्वाचनको विकल्प छैन । अब निर्वाचन नै निकास हो ।” उनले कांग्रेसका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्ने आरोप अस्वीकार गर्दै सरकारलाई अक्षम भनी मूल्यांकन गर्न नसकिने पनि बताए ।
साथै उनले अब कांग्रेसमा महाधिवेशन कुनै पनि हालतमा नरोकिने दृढता व्यक्त गरे । उनले थपे, “५७ जिल्लामा वडा अधिवेशन भइसकेको छ । १३ जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक भइसकेको छ । बाँकी जिल्लाको आज या भोलि हुन्छ । डोल्पा, धनुषा, रसुवा र बाँके जिल्लामा केही जटिल समस्या भए पनि त्यसको समाधान खोज्दैछौं ।कतिपय जिल्लाको समाधान हुनै सक्दैन भने तिनलाई स्थगित भएर अघि बढ्न सकिन्छ । निर्वाचन समितिको कार्यतालिका कार्यान्वयन हुन्छ ।”
असोज ५ गतेको वडा अधिवेशन सकिएपछि आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने पौडेलले बताए । उनले थपे, “अहिले म क्रियाशील सदस्यता छानबिन समितिमा रहेर सचिवालयलाई सहयोग गरिरहेको छु । असोज ५ मा वडा अधिवेशन सकिएपछि उम्मेद्वारी घोषणा गर्छु ।”
साथै उनले आफू कृष्णप्रसाद सिटौला समूहमै रहेको पनि बताए र गगन थापाले पनि सिटौलालाई नछाडेको जिकिर गरे । उनले भने, “हामीबीच छलफल र सल्लाह हुन बाँकी छ । म अहिले उहाँ (सिटौला) सँगै छु, कुन समूह कसरी बन्छ, त्यस आधारमै अघि बढ्ने हो । गगन थापाले पनि समूह परिवर्तन गरेँ भन्नुभएको छैन । हामीसँगको संवादमा त्यसो भन्नुभएको छैन ।”


प्रतिक्रिया दिनुहोस्