Logo

नालायक र अक्षम नेताहरूले संविधानलाई कागजको खोस्टो बनाइदिएः रामचन्द्र पौडेल



काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिम्मेवारीमा पुग्ने नेताहरुले इमानदारी देखाउन नसक्दा संविधान कार्यान्वयन नभई कागजको खोस्टोमा परिणत हुन पुगेको बताएका छन् । संविधानजस्तो संवेदनशील कुरालाई सस्तो राजनीतिक नारावाजी र वितण्डाको विषय बनाइनु नेतृत्वको नालायकी र अक्षमताको नमुना भएको उनको जिकिर छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, ‘७० वर्षदेखि जनताको संघर्ष र बलिदान गरेर आएको संविधानको कार्यान्वयनमा नेताहरु चुकेका छन् । नेताहरु सर्वसत्तावादी सोचबाट अनुप्राणित भए । सत्तालाई आफ्नो पेवा बनाउनेबाहेक जनताको दुःख, गरिबी र अविकासमा ध्यान दिएनन् । संविधानले सबैलाई अधिकार दिएको छ, तर जिम्मेवारीमा पुग्नेहरु इमानदार नहुँदा संविधानमाथि नै आक्रमण भइरहेको छ । त्यसैले जनमतको दबाबबाटै संविधानको रक्षा गर्नुपर्छ । यही व्यवस्था अन्तर्गत जनताले आर्थिक उन्नति गर्न पाउनुपर्छ ।’

संविधानको पुनरावलोकन गर्ने बेला भयो भन्नु भ्रम भएको उनको धारणा छ । उनले भने, ‘संविधानले समावेशी लोकतन्त्र, समाजवाद उन्मुख लोकतन्त्रलाई साकार पारेको छ । संविधानको कार्यान्वयनमा इमानदारी नदेखाउने, कर्तव्य निर्वाहतिर नलाग्ने अनि सधैंभरि राजनीतिक नारावाजी र वितण्डा मच्चाइरहने रु संविधान फेर्ने कुरा सस्तो नारामात्र हो । यो नेताहरुको नालायकी र असक्षमताको नमुना हो । अस्थिरता र बारम्बारको प्रयोग नेपाली जनताले धान्न सक्दैनन् ।’

यो संविधानलाई बचाएर नै समतामुलक, सम्पन्न नेपाल बनाउन सक्ने दाबी गर्दै नेता पौडेलले संविधानलाई नेताहरुले नै कागजको खोस्टोमा परिणत गरेको आरोप गरे । उनले थपे, ‘मधेसी जनताको कुन कुन माग पूरा भएका छैनन्, जायज मागलाई पूरा गरौं । जनताले पाएका अधिकारलाई सुरक्षित राख्दै अघि बढौं । तर यसको विकल्प खोज्ने कुरा कुनै पनि हालतमा स्वीकार्य छैन । अति महत्वाकांक्षी नेताका कारण जनताले दुःख पाएका छन् । अब जनताले नै योग्य नेता खोज्नुपर्छ ।’

उनले कांग्रेसलाई नेपाली जनताको भरोसालायक कांग्रेस बनाउन चाहेको पनि बताए । उनले भने, ‘अहिले देश बन्धक बनेको छ । अनिर्णयको बन्दी भएको छ । हामी महाधिवेशनमार्फन कांग्रेसलाई नेपाली जनताको भरोसालायक पार्टी बनाउन लागेका छौं । अब पनि नेतृत्व परिवर्तन भएन भने देशको भविष्य बन्दैन ।’



प्रतिक्रिया दिनुहोस्