Logo

काँग्रेसको काठमाडौं र मोरङसहित सात जिल्लाको वडा अधिवेशन हुँदै



काठमाडौं, ५ असोज । नेपाली काँग्रेसको काठमाडौं र मोरङसहित सात जिल्लाको वडा अधिवेशन आज भइरहेको छ । विहानैबाट सात जिल्लाभरका वडाको अधिवेशन सुरु भएको हो ।

५७ जिल्लाको अधिवेशन भइसकेको अवस्थामा आजको अधिवेशन निकै महत्वपूर्ण मानिएको छ । राजधानी समेत रहेको काठमाडौं र देशकै बढी जनसंख्या भएको मोरङको अधिवेशनमा चासो बढी रहेको छ ।

बढी प्रतिनिधि चयन हुने जिल्लाहरुमा काठमाडौं र मोरङ पर्दछन् । दुवै जिल्ला काँग्रेसको प्रभाव बढी रहेकोमा पर्दछन् ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा पनि आज नै अधिवेशन हुँदैछ । यी जिल्लाहरुमा क्रियाशील सदस्यता विवादले अधिवेशन सरेको हो ।

काठमाडौंमा काँग्रेसका प्रभावशाली नेताहरु छन् । सभापतिका दाबेदार प्रकाशमान सिंह, महामन्त्रीका दाबेदारहरु डा. प्रकाशशरण महत र गगन थापा काठमाडौंबाट चुनाव लड्दै आएका छन् ।

मोरङ जिल्ला पनि काँग्रेसको गढ मानिन्छ । त्यहाँ कोइराला परिवारको बलियो पकड छ । वीपी कोइराला यही जिल्लाका थिए । काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाले लामो समय मोरङबाट चुनाव लडेर जित्थे । कोइराला परिवारका सदस्यमध्ये डा. शेखर कोइराला मोरङलाई आधार बनाएर राजनीतिक गर्दै आएका छन् । कोइराला परिवारका कतिपय सदस्य यही जिल्लाबाट राजनीतिक गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्