Logo

देउवालाई सर्वसम्मत सभापति बनाउनुपर्छ, महामन्त्रीको उम्मेदवार बालकृष्ण खाँड होः महेन्द्र यादव



काठमाडौं, असोज ५ । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले शेरबहादुर देउवालाई पार्टी सभापतिमा सर्वसम्मत गर्नुको विकल्प नभएको बताएका छन् । देउवा पक्षबाट महामन्त्रीको एउटा उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँड भएको ठोकुवा पनि उनले गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा आज बिहान पत्रकार ऋषि धमलाले तपाईंकै गृहजिल्ला धनुषाका नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभयो, तपाईंले साथ दिने किन नदिने भन्ने प्रश्न गर्दा नेता यादवले भने, ‘नेपाली कांग्रेस भनेको समुद्र हो । यस्तो लोकतान्त्रिक पार्टी न अमेरिकामा छ, न भारतमा । महाधिवेशन भरखर सुरु भयो । को को उम्मेदवार हुन्छन्, को को हुँदैनन्, अहिले नै भन्न सकिँदैन । सबैलाई निर्वाचन लड्ने अधिकार छ । तर म हिजो पनि शेरबहादुर देउवाको हुँ, आज पनि हुँ, भोलि पनि हुनेछु ।’

नेता यादवले देउवालाई कांग्रेसले मात्र नभई सबै दल र देशले मानेको हुँदा यसपालि सर्वसम्मत गराउने पहल गर्नुपर्ने पनि बताए । उनले थपे, ‘शेरबहादुर देउवालाई हामीले मात्र होइन, सबै दलले मानेका छन् । आफ्नो पार्टीको सभापतिलाई देशकै नेता मानेको अवस्थामा नेपाली कांग्रेसका साथीहरु खुसी छौं । त्यसैले हामी एकढिक्का भएर देउवाको नेतृत्वमा अघि बढ्न चाहन्छौं । उहाँलाई सर्वसम्मत सभापति बनाएर पार्टीलाई बहुमत दिलाएर एकमना सरकार बनाउनुपर्छ ।’

देउवा पक्षबाट महामन्त्रीको उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँड हुने उनले बताए । उनले भने, ‘हाम्रो पक्षबाट विधिवत् निर्णय त भइसकेको छैन । तर बालकृष्ण खाँड महामन्त्रीको उम्मेदवार हुनुपर्छ भन्ने धेरै युवाहरुको चाहना छ । उहाँले नेविसंघ र तरुण दलको सफल नेतृत्व गर्नुभयो । दुइटा महामन्त्रीमध्ये एउटा उहाँले नपाउने कुरा छैन । समय आएपछि हाम्रो टिम घोषणा हुन्छ ।’

धनुषामा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको पुत्र डा। चन्द्रमोहन यादवको राजनीति समाप्त पार्न किन लाग्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘चन्द्रमोहनजी र म एउटै गाउँका हौं । हामी दाजुभाइजस्ता छौं । गत निर्वाचनमा उहाँ प्रदेशमा लड्नुभयो, म संघमा लडें । कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीमा उहाँलाई माइनस गर्ने कुरै छैन । केही मिस अन्डरस्ट्यान्डिङ थियो, अब समाधान मिलिसक्यो । अब हामी सँगै मिलेर जान्छौं ।’

धनुषालगायत ७७ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान भएको दाबी पनि उनले गरे । उनले निर्वाचनको मूल कार्यतालिका अब हेरफेर नहुने पनि बताए । देउवा नेतृत्वको सरकारले ओली सरकारभन्दा धेरै राम्रो काम गरेको उनको भनाइ छ । उनले भने, ‘कोभिडको भ्याक्सिन तोकेको समयभन्दा पहिले नै सबै नेपालीले पाउने परिस्थिति बनेको छ । संविधानको पालना भएको छ । ओली सरकार र अहिलेको सरकारको काम हेरे थाहा भइहाल्छ । नेपाली जनताले विगतमा भन्दा राम्रो र खुसीका साथ दसैं मनाउँछन् ।’



प्रतिक्रिया दिनुहोस्