Logo

१३ जिल्लामा कांग्रेस वडा अधिवेशन अनिश्चित



काठमाडौं, असोज ६ । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो ।

क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले १३ जिल्लामा वडा अधिवेशनसमेत धकेलिने भएपछि पालिका अधिवेशनसमेत केही दिन सर्ने जानकारी दिएका छन् । ‘१३ जिल्लामा केही दिनभित्रै वडा अधिवेशन हुन्छ, ९ भदौमा पालिका अधिवेशन तोकिए पनि ती जिल्लामा सोही मितिमा पालिका अधिवेशन सम्भव छैन,’ ढुंगानाले राजधानीसँग भने, ‘पहिले वडा अधिवेशन भएका जिल्लामा हुन्छ, अन्यत्र सर्छ ।’ उनका अनुसार प्रदेश २ का सबै जिल्लामा प्रायः सदस्यता विवाद समाधान भइसकेको छ ।

रौतहट र बाराको सदस्यता रुजु जारी छ । १४औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये मंगलबार सात जिल्लामा भने प्रक्रिया सुरु भइसकेको छ । काठमाडौं, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन प्रक्रिया सुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिएका छन् ।

यसअघि, ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । वडा अधिवेशन गत १८ भदौमा तोकिएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्