Logo

काँग्रेसको देउवाइतर समूहको बैठकमा चर्काचर्की



काठमाडौं, ६ असोज । नेपाली काँग्रेसको देउवाइतर समूहको बैठकमा चर्काचर्की भएको छ । मन्त्रिमण्डलमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निकटस्थलाई थप्दै जाँदा इतर पक्ष नपरेपछि आकस्मिक रुपमा बैठक डाकिएको थियो ।

महाराजगञ्जस्थित महामन्त्री डा. सशांक कोइरालाको निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. रामशरण महत, बलबहादुर केसीलगायत नेताहरु सहभागी थिए ।

बैठकमा पौडेलले देउवाको चर्को आलोचना गरेका थिए । बैठकका एक सहभागीका अनुसार उनले देउवाका कारण पार्टी सिध्धिने बताए । त्यसपछि सुजाता कडा रुपमा प्रस्तुत भइन् । उनको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘काँग्रेस सिक्किदैन रामचन्द्रजी तपाईं सक्किनुहुन्छ, हामी सक्किन्छौं । काँग्रेस यस्तै रहन्छ बरु खस्कदै जाला ।’

‘मन्त्रीको नाम दिनुभनेर शेरबहादुरजीले भन्दा नदिने ? आज दुई महिना भइसक्यो किन मन्त्रीको नाम दिन नसकेको ?’ सुजाता बोल्दा सशांक र शेखर सुनिरहे । उनी झोक्किदै बोल्न थालिन् । ‘एउटा मन्त्रीको नाम पनि दिन नसक्ने ? कसरी सभापतिको दाबी गर्नुहुन्छ ? मिलाउन पनि नसक्ने ?’

सुजाता बोल्दै जाँदा डा. रामशरण महतले जम्मा २ जना मन्त्रीको कोटा भएको भन्दै जाति, क्षेत्र सबै मिलाउँदा गाह्रो परेको छ । सुजाता झोक्किदै भनिन्, ‘उसो भए लिङ्ग पनि मिलाउनुपर्छ ।’ बैठकमा केही समय चर्काचर्की भयो । त्यसपछि महत चुप लागे ।

आजको बैठकमा सुजाता आक्रामक रुपमा प्रस्तुत भइन् । उनले आफूलाई यसअघि बैठकमा नडाकेको भन्दै आक्रोश पोखिन् । ‘तपाईंहरु आफू सर्वेसर्वा ठान्ने, मिल्न पनि नसक्ने मिलाउन पनि नसक्ने ?’ सुजाताले प्रश्न गरिन् ।

सबै मिलेर एउटा उम्मेदवार दिन नसके सबै सक्किने सुजाताको ठोकुवा थियो । उनले भनिन्, ‘सबै सभापति बन्छु भन्दै हिंड्ने त्याग नगर्ने, पावर सेयरिङ नगर्ने हो भने देउवालाई कसैले रोक्न सक्दैन ।’ उनले मिलेर जान आग्रह गरिन् ।

बैठकमा पौडेलले सबैलाई मिलाएर लाने र सहमतिमा मन्त्रीको नाम टुंगो लगाएर पठाउने बताए । त्यसपछि सबैले सुझावहरु पेश गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्