Logo

कांग्रेसको नयाँ नेतृत्वका लागि दुई प्यानल भिड्दै



बैतडी, ८ असोज। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लामा पनि माहोल तातेको छ । जिल्ला अधिवेशनका लागि पनि आआफ्नै प्यानल घोषणा गरी चुनावी प्रचारप्रसार सुरु भएको छ ।

बैतडीमा दुई समूहले प्यानल घोषणा गरिसकेपछि त्यहाँ नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ । अधिकांश वडामा सहमतिमै नेतृत्व चयन गर्न सफल भएको बैतडी कांग्रेसले जिल्ला नेतृत्वका लागि भने सहमति गर्न नसकेका हुन् ।

जिल्लामा संस्थापन पक्षका रुपमा रहेको चतुरबहादुर चन्दले आफ्नो नेतृत्वमा संयुक्त प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रमा संस्थापन पक्षका रुपमा रहेको शिवराज भट्टले पनि आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।

चन्द नेतृत्वको प्यानलको उपसभापतिमा धामी हाल जिल्ला सदस्य रहनुभएका खगेन्द्रसिंह धामी र हाल जिल्ला कोषाध्यक्ष रहनुभएका रमेश पाण्डेयको नाम अघि सारिएको छ । सचिवमा हाल पार्टीका सचिव रहनुभएका प्रेमबहादुर चन्द र जिल्ला सदस्य रहनुभएका देवराज जोशीको नाम सार्वजनिक गरिएको छ ।

सहसचिवमा हाल जिल्ला कार्यालय सचिव रहेका दिपेन्द्रबहादुर चन्द र जिल्ला आमन्त्रित सदस्य रहेका दशरथसिंह चाडले उम्मेदवारी घोषणा गरेका छन् । उता भट्ट प्यानलमा वर्तमान सचिव वीरबहादुर विष्ट र पूर्वउपसभापति हरिसिंह धामी उपसभापतिको उम्मेदवार रहेका छन् ।

यस्तै रमेशसिंह भण्डारी र कर्ण बोहराले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । सो समूहबाट सहसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ । दुवै समूहले आआफ्ना उम्मेदवार घोषणा गरिसकेकाले निर्वाचनबाटै नयाँ नेतृत्व आउने निश्चित भएको छ ।

सभापतिका उम्मेदवार चतुरबहादुर चन्दले आफू कुनै गुटको उम्मेदवार नभएर कांग्रेसको संयुक्त उम्मेदवार भएको बताए । सभापतिमा आफूले जितेमा कांग्रेसलाई एकढिक्का भएर लैजानुका आउने सबै स्तरका निर्वाचनमा कांग्रेसलाई एक नम्बर बनाउन आफ्नो योजना रहेको बताए ।

यस्तै अर्को सभापतिका उम्मेदवार शिवराज भट्टले पनि पार्टीलाई बलियो बनाउन र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको बताए । पालिका र प्रदेश क्षेत्रीय नेतृत्वका लागि पनि सहमतिको सम्भावना कम रहेको नेताले बताएका छन् । केही स्थानीय तहमा उम्मेदवार घोषणा गरेका दुवै पक्षले केहीमा भने अझै उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

जिल्लाका सबै वडामा गत भदौमा अभिवेशन सम्पन्न भइसकेको छ । पालिका अधिवेशन यही असोज ९, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ र जिल्ला अधिवेशन असोज १५ गते हुनेछ । आगामी कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मङ्सिर ९–१३ सम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्