Logo

देउवाले पार्टीसत्ता र राज्यसत्ता दुरुपयोग गरेर महाधिवेशन गर्नुभन्दा सीधै आफैंलाई सभापति घोषणा गरे हुन्छः केसी



काठमाडौं, असोज ९ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी सत्ता र राज्यसत्ता दुरुपयोग गरेर महाधिवेशन गर्नुभन्दा सीधै सभापति घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् । केन्द्रीय निर्वाचन समिति पुलिस-प्रशासन र गुन्डागर्दीमा पनि मूकदर्शक बनेको उनको आरोप छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, पार्टीको विधि, विधान र नियमलाई कुल्चेर सत्ता र शक्तिको स्रोत दुरुपयोग गरी जबर्जस्ती पार्टी कब्जा गर्ने खोज्नु दुःखद पक्ष हो । निष्पक्ष र पारदर्शी ढंगले निर्वाचन भए पो परिणाम स्वीकार्ने हो । बलजफ्ती गरेर हारेमा त्यसको तिक्तता लिएर पार्टी कहाँ पुग्छ ? महाधिवेशन भनेको विपक्षी दलसँगको प्रतिस्पर्धा होइन, आन्तरिक प्रतिस्पर्धा हो । यस्तो पनि आन्तरिक प्रतिस्पर्धा हुन्छ ? यस्तो अधिवेशन गर्नुभन्दा सीधै सभापति घोषणा गरे भइहाल्यो नि ।”

नेता केसीले केन्द्रीय निर्वाचन समिति गलत क्रियाकलापको मतियार बनिरहेको आरोप लगाए । उनले थपे, “हुन त निर्वाचन समितिमा कानुनवेत्ता साथीहरु छन् । उनीहरुले न्यायिक निर्णय गर्नुपर्नेमा पदाधिकारीको आदेश तामेल गरिरहेका छन् । मूकदर्शक भएर बसिरहेका छन् । निर्वाचन निष्पक्ष, पारदर्शी र विधिसम्मत हुन सकेको छैन । डडेलधुरालगायत १०–१२ जिल्लामा विभिन्न उजुरी परेका छन्, निर्णय भएको छैन । उनीहरुले न्यायिक निर्णय गर्नुपर्ने होइन ?”

पार्टीको संस्थापन पक्षले महाधिवेशन नचाहेको पनि उनले बताए । उनले भने, “हिमाली, पहाडी र मधेस अलअलग कार्यतालिका आएको छ । कार्यतालिका मनपरी दसौंचोटि संशोधन गरिएको छ । मिति सार्दै सार्दै महाधिवेशन नै नगर्ने तहमा पुर्याएका छन् । कुन दिन के नोटिस आउँछ, कसैलाई थाहा छैन । पूर्व पदाधिकारीका नाममा पार्टी विधानकै मौलिकतामा परिवर्तन गरिएको छ । यो केन्द्रीय कार्यसमिति राखेर छलफल गर्नुपर्ने होइन ?”

आज ६४ जिल्लामा हुने पालिका अधिवेशनमा स्वच्छ र पारदर्शी ढंगले नेतृत्व चयन होस् भन्ने चाहेको उनले बताए । उनले भने, “अधिवेशनमा व्यक्तिगत स्वार्थ र संकीर्णता स्वस्थ संकेत होइन । महाधिवेशन भनेको नेतृत्व चयनमात्र नभएर सैद्धान्तिक छलफल गर्ने उत्सव पनि हो । कसले कसलाई हराउने, कसले कसलाई जिताउने खेलमा तल्लो स्तरमा गतिविधि भइरहेको छ । नुवाकोटको बेलकोटगढी वडा नं ४ मा माओवादीका ठूलो जमात नेपाली कांग्रेसमा प्रवेश गरेको थियो । पार्टीभित्रको भेदभावका कारण ती साथीहरुले तिक्तता अनुभव गरेर पार्टी छाडे । अब मनपरी गरेर पार्टी चलाउनेलाई दण्डित गर्न सक्नुपर्छ ।”

निर्वाचनमा हारजित र मत विभाजन स्वाभाविक भए पनि मन विभाजन हुन दिनु नहुने उनले बताए । उनले महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । उनले भने, “देउवा अहिले पनि हाम्रो नेता हो । फेरि जितेपछि पनि हाम्रै नेता हुने हो । सकेसम्म हामी साझा उम्मेदवार उठौंला, नभए तीन चार जना लडौंला । आखिर जहाँबाट जसले जिते पनि कांग्रेसले नै जित्ने हो । प्रतिस्पर्धा, वादविवाद, वैचारिक मन्थन लोकतान्त्रिक पद्धति हो । यसलाई बिर्सेर जबर्जस्ती नेतृत्वमा पुग्ने कुरा कसैलाई सैह्य हुन्न ।”



प्रतिक्रिया दिनुहोस्