काठमाडौं, १८ असोज । फष्ट लेडी डा. आरजु राणा नियुक्तीदेखि सरुवा–बढुवाजस्ता कामकाजमा हाबी हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा निरीह देखिन थालेका छन् ।
सरकारले गर्ने महत्वपूर्ण नियुक्ती त डा. राणाकै निर्देशनमा हुने गरेको छ । हिजोबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पनि मन्त्री कोटा छुट्याईएको भन्ने समाचारको पहेली केलाउँदै जाँदा प्रधानन्यायाधीश जबराको कोटा भन्दै आरजुले आफ्नै मान्छेलाई मन्त्री बनाउन लविङ गरेको स्रोतको दाबी छ ।
आजमात्रै प्रधानन्यायाधीश जबराले मन्त्री बनाउन कोटा राखिएको र जसको नाम चर्चामा आएको छ, त्यसमा आफ्नो साईनो–सम्बन्ध नै नरहेको स्पष्ट पारेका छन् । आजमात्रै उनलाई यो विषयमा स्पष्ट हुनको लागि सर्वोच्चको बार प्रतिनिधि भेट्न पुगेको थियो । उक्त भेटमा उनले आफूले कसैलाई मन्त्री बनाउन नचाहेको र यसमा आफ्नो नाम जोडिएकोमा आश्चर्य प्रकट गरेका थिए ।
प्रधानन्यायाधीशले आफूहरूलाई झूटो समाचार प्रकाशित गरेर त्यसले स्वतन्त्र न्यायलयमाथि प्रहार गरेको भन्दै गुनासो पोखेका थिए । सर्वोच्च अदालत बारका अध्यक्ष प्राध्यापक पूर्णमान शाक्यको नेतृत्वमा बारको टोलीले आज प्रधानन्यायाधीश जबरालाई भेटेको थियो ।
प्रधानन्यायाधीशले ‘आफ्नालाई मन्त्री बनाउन खोजेको’ मा बारको चासो
सरकार गठन भएको तीन महिना पुग्न लाग्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर प्रधानमन्त्री देउवाको आलोचना भैरहेको बेला हिजोबाट मन्त्रिपरिषदमा प्रधानन्यायाधीशलाई कोटा छुट्याईएको विषय प्रवेशसँगै राजनीति तरंगित बनेको छ । प्रधानन्यायाधीश निकट भनेर मन्त्री बनाउन लागिएको भनेर चर्चामा आएका व्यक्तिहरु डा. राणासँग नजिक रहेको स्रोतको दाबी छ ।
खासगरी प्रधानन्यायाधीश जबराको कोटा देखाउँदै मन्त्री बनाउन लागिएका व्यक्तिहरु गजेन्द्र हमाल र दीपक तिमिल्सिना हुन् । तिमिल्सिना न्यायालय परिसरमा बिचौलियाका रूपमा परिचित छन् । हमाल भने प्रधानन्यायाधीशको आफन्त भनिएको छ । तर, हमाल देउवा नेतृत्वमा कांग्रेस प्रजातान्त्रिक गठन हुँदा त्यही पार्टीमा सक्रिय थिए ।
पछिल्लो समय सरकारले गरेका महत्वपूर्ण नियुक्तीहरु र सरुवा–बढुवामा समेत फष्ट लेडी डा. राणाले नै हस्तक्षेप गर्ने गरेको जानकारहरु बताउँछन् । कतिसम्म भने यसअघि प्रधानमन्त्री देउवाको निजी स्वकिय सचिवको रुपमा काम गर्दै आएका भानु देउवालाई समेत नियुक्ती दिन आनाकानी गरिएको थियो ।
तर, अन्ततः देउवाले भानुलाई स्वकिय सचिवमा नियुक्त गरेका थिए । अहिले पनि प्रधानमन्त्री देउवाले आफ्नो सचिवालय गठन गर्न सकेका छैनन् । सचिवालयमा कसलाई राख्ने/नराख्ने भनेर आरजुले नै हस्तक्षेप गर्न खोज्दा आज ८६ दिन वितिसक्दापनि प्रधानमन्त्री देउवाले सचिवालय गठन गर्न नकसकेका हुन् । file photo




प्रतिक्रिया