Logo

डोटीमा १५ को मृत्यु, १० घाइते



काठमाडौं, कात्तिक ४ । असोज ३१ देखि ३ गतेसम्म परेको लगातार वर्षाका कारण डोटीमा १५ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । आज बिहान रेडियो नेपाली नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डोटीका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले भने, “यहाँ चारदेखि विद्युत् र सञ्चार अवरुद्ध छ । पहाडी जिल्ला र दुर्गम बस्ती भएकाले सूचना पाउन कठिन छ । तैपनि हामी संयुक्त रुपमा उद्धारमा लागेका छौं ।”

प्रजिअ विष्टले भीमदत्त र केआईसिंह राजमार्गको ठाउँठाउँमा अवरुद्ध भएको र कतिपय सडकमा ढलेका पहिरो पन्छाइएको बताए । उनले कैंयौं घर जोखिममा रहेकाले जनतालाई सुरक्षित ढंगले राखेको पनि बताए ।

उनले भने, “अस्थायी ढंगले बसिरहेकाहरुलाई खाद्यान्न, पाल उपलब्ध गराएका छौं । गम्भीर घाइते ५ जनालाई हेलिकप्टरबाट धनगढी पठाएका छौं । आज मौसममा सुधार भएको छ । सञ्चार सम्पर्क स्थापित हुने क्रम बढेको छ। बादल लागिरहे पनि पानी परेको छैन । अब विकराल अवस्था दोहोरिँदैन । “



प्रतिक्रिया दिनुहोस्