हामीले प्रधानन्यायाधीशको राजीनामा मागेका होइनौंः कांग्रेस नेता यादव


काठमाडौं, कात्तिक १३ । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले आफूसहित पार्टीका १२ केन्द्रीय सदस्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा नमागेको बताएका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “गरिमामय र सम्मानित न्यायपालिका अहिले विवादित बन्दै गएको छ । यस्तो राष्ट्रिय मुद्दामा सरकारको नेतृत्व गरिरहेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको मौनता सुहाउँदैन र यसबारे धारणा आउनुपर्छ भन्ने मात्र हो । हामीले प्रधानन्यायाधीशलाई यो वा त्यो गर्नुपर्छ भनेर दबाब दिएका छैनौं, पार्टीको ध्यानाकर्षण मात्र गराएका हौं ।”

प्रधानन्यायाधीश राणाले संविधान र प्रतिनिधिसभा बचाएको उदाहरण दिँदै नेता यादवले भने, “हामी सदैव स्वतन्त्र न्यायपालिका र कानुनी राज्यको अवधारणामा विश्वास गर्छौंं । पछिल्लो समय मिडियामा विभिन्न कुरा आइरहेका छन् । बार परिसरमै वकिलहरुबीच मारपिट भइरहेको छ । हाम्रो भनाइ के मात्र हो भने अदालत स्वतन्त्र र निष्पक्ष होस्, यसको गरिमा नघटोस् । देशको यस्तो जल्दाबल्दा मुद्दामा नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक र जिम्मेवार पार्टीले आफ्नो धारणा ल्याउनुपर्छ र जनतामा रहेको नकारात्मक प्रभावलाई कम गर्नुपर्छ भनेका हौं ।”

प्रधानन्यायाधीशले राजीनामा नदिने, दलहरुले महाभियोग पनि ल्याउन नसक्ने स्थिति रहँदा के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “हामी सबैले न्यायपालिका मात्र होइन, मुलुककै हितमा सोच्नुपर्छ । प्रमुख प्रतिपक्ष एमाले र केपी ओली अराजकता र अशान्तिमा रमाउने पार्टी र नेता भएकाले संसद् तीन महिनादेखि चलेको छैन । राष्ट्रिय मुद्दा अलपत्र परेका छन् । त्यसैले हामी सबैले जिम्मेवार भएर सोच्नुपर्छ ।”

नेता यादवले नेपाली कांग्रेसको महाधिवेशनमा विलम्ब भए पनि अब समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले भने, “नेपाली कांग्रेसले संविधान बनाएको छ, तीन तहको निर्वाचन गरेको हो, मधेसका समस्या समाधान गर्न अघि बढिरहेको छ । महाधिवेशन गर्न नसक्ने कुरै छैन ।”

Skip This

Omoda E5 Pro