Logo

नीर शाह र ऋषि धमला सम्मानित



काठमाडौं, १८ कार्तिक । भूगर्भ सिमेन्ट उद्योग प्रा.लि.ले बरिष्ठ कलाकार नीर शाह र बरिष्ठ पत्रकार ऋषि धमलालाई आ आफ्नो क्षेत्रबाट देश र जनताको लागि पुर्याएको अतुलनीय योगदानको लागि अभिनन्दन गरेको छ । हिजो साँझ उद्योग प्रा.ली.को काठमाडौंस्थित् कार्यालय परिसरमा आयोजित देउसी भैलो २०७८ कार्यक्रमलगत्तै शाह र धमलालाई सम्मान गरिएको थियो । देउसी भैलोमा देशका प्रतिष्ठित कलाकारहरुको उपस्थिति थियो ।

उद्योगका अध्यक्ष तथा बाग्मती प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कलाकार शाह र पत्रकार धमलालाई सम्मान गरेका हुन् । पत्रकारिताको माध्यमबाट धमलाले देशमा ठूलो योगदान पुर्याएको बानियाँको भनाई थियो । धमलाले जनमुखी पत्रकारितालाई बढावा दिँदै आएकोमा आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्नेमा बानियाँले जोड दिएका छन् ।

धमलाले पत्रकारिताको क्षेत्रबाट आमूल परिवर्तन गरेको, जनताको एजेण्डालाई बढाएको, निडर, निर्भिक र स्वतन्त्र रुपमा पत्रकारिता गरेको भन्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै, शाहले कलाकारिताको क्षेत्रबाट उल्लेखनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको बताईएको छ।

सम्मानित भएपछि संक्षिप्त सम्बोधन गर्दै पत्रकार धमलाले अहिलेको अवस्थामा देश विकासमा सिमेन्ट उद्योगले ठूलो टेवा पुर्याएको धारणा राखेका थिए । भूगर्भ सिमेन्टले देशको विकासमा योगदान पुर्याउनुको साथै सामाजिक उत्तरदायित्व पनि निर्वाह गरेको धमला र शाहले प्रशंसा गरेका थिए । त्यस्तै, बानियाँ बाग्मती प्रदेशको मुख्यमन्त्री छिट्टै बन्ने निश्चित् भएकोमा उनीहरुलाई बधाई तथा सफल कार्यकालको अग्रिम शुभकामना दिएका थिए । उक्त सम्मान कार्यक्रममा उद्योगका प्रवन्ध सञ्चालक नन्दी कुमार पौडेलको पनि उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्