पत्नीको स्मृतिमा नेता चौधरीद्वारा पत्रकारिता पुरस्कार स्थापना


लहान, २२ कात्तिक । नेपाली कांग्रेस सिरहाका नेता तथा समाजसेवी महेश चौधरीले पत्नीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका छन् । ‘सङ्गीता कर्माचार्य स्मृति पत्रकारिता पुरस्कार’का लागि रु ५१ हजार राशिको पुरस्कार कोष स्थापना गरेको उनले जानकारी दिए ।

आउँदो मङ्सिर २२ गते आयोजना हुने कार्यक्रममा जिल्लाका एक पत्रकारलाई सो पुरस्कार प्रदान गरिने नेता चौधरीले बताए । नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका प्रतिनिधि र सङ्गीता कर्माचार्य स्मृति प्रतिष्ठानका प्रतिनिधिसहितको बैठकले सो पुरस्कारका लागि एक सञ्चारकर्मीको नाम छनोट गर्ने जनाइएको छ ।

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका बेला गाउँ–गाउँका गरिब विपन्न परिवारलाई राहत वितरण गर्न सक्रिय कर्माचार्यले गत वैशाख २८ गते आमाको मुख हेर्ने दिन लहान नगरपालिका– १३ का २१ महिलालाई साडी वितरण गरेका थिए । त्यही दिन कोरोना सङ्क्रमण भएपछि उनलाई उपचारको लागि झापास्थित अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कर्माचार्यको २०७८ जेठ २२ गते मृत्यु भएको थियो । रासस

Skip This

Omoda E5 Pro