Logo

जनगणनाको प्रारम्भिक नतिजा तीन महिनाभित्र आइसक्छ, लिम्पियाधुराको गणना स्याटेलाइटबाट हुन सक्छः तथ्यांक विभागका महानिर्देशक



काठमाडौं, कात्तिक २५ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले आजदेखि सुरु भएको राष्ट्रिय जनगणना मंसिर ९ सम्म सकिने र तीन महिनाभित्र प्रारम्भिक नतिजा आइसक्ने बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महानिर्देशक श्रेष्ठले भने, “हामी १५ दिनभित्र जनगणना गरिसक्छौं । हामीले स्थानीय तहबाटै गणक छनोट गरेका छौं । मंसिरभित्र प्रश्नावली आइसक्छ, इन्ट्रीका लागि तीन, चार महिना लाग्छ । प्रारम्भिक नतिजा तीन महिनाभित्र आउँछ ।”

नेपालले आफ्नो नक्सामा समावेश गरेका कालापानी, लिम्पिायधुरा र लिपुलेकको आवश्यकता अनुसार स्याटेलाइटबाट जनगणना गर्न सकिने उनले बताए । उनले थपे, “लिम्पियाधुरा क्षेत्रमा आवतजावत सहज छैन । यसबारे नेपाल र भारत सरकारबीच कुरा हुनपर्छ । त्यहाँ प्रत्यक्ष रुपमा जान नसक्दा स्याटेलाइटबाट पनि जनगणना गर्न सकिन्छ ।”

महानिर्देशक श्रेष्ठका अनुसार आज सूर्योदयसँगै ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक फिल्डमा खटिएका छन् । शुभारम्भको दिन आज बिहान १० बजे राष्ट्रपति, ११ बजे प्रधानमन्त्री, दिउँसो १ बजे उपराष्ट्रपति र बेलुकी ५ बजे प्रमुख विपक्षी दलका नेता केपी ओलीकहाँ जनगणना टोली जाँदै छ । काठमाडौं उपत्यकामा कागजको प्रयोगबिना ट्याब्लेटमै सोधिने छ भने विदेशी दूतावास र नियोगमा नेटबाट गणना गरिने छ ।

उनले जनगणना भाँड्न खोज्ने र तथ्यांक नष्ट गर्नेमाथि कडा कारबाही हुने चेतावनी दिए । उनले भने, “प्रत्येक १० वर्षमा हुने जनगणना हामी कति छौं, कहाँ छौं भन्ने आकलन हो । विगतमा कुन अवस्थामा थियौं अहिले कस्तो अवस्थामा छौं र भोलिको सुन्दर भविष्यका लागि कस्तो नीति र योजना आकलन गर्न भन्ने थाहा पाउने कुरा हहो । यसको विवरणले नै जनसंख्याको आकार, प्रकार र बनोट थाहा हुन्छ ।”

यसपालि जनगणनामा ८० प्रश्न सोधिने उनले बताए । चार अर्ब कसरी खर्च गर्नहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “हामीले ऐन कानुन नियम बमोजिम खरिदप्रक्रिया अघि बढाएका हौं । तीन करोड हाराहारीको जनताका लागि सबैभन्दा धेरै खर्च छपाई र झोलामा भएको छ । यसलाई पारदर्शी बनाएका छौं ।” उनले उत्तरदाता र गणकबीचको संवादको गोप्य रहने पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्