Logo

काभ्रेपलाञ्चोकको नमोबुद्ध जात्रामा बौद्ध धर्मावलम्बीको घुइँचोे



काभ्रे, मंसिर ४ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ ।

किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मावलम्बीको भीड लागेको हो ।

बिहीबारदेखि लागेको मेलामा शनिबार बिहानसम्म एक लाखभन्दा बढीले नमोबुद्धको दर्शन–पूजाअर्चना गरेको मेला मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार गएरातभरि नमोबुद्धमा मेला लागेको थियो । मेलामा परम्परागत गीत–नृत्य प्रस्तुत गर्नेको उत्तिकै भीड थियो ।

कोरोना महामारीका कारण बितेका दुई वर्ष मेला रोकिएपछि यो वर्ष नमोबुद्धको मेलामा घुइँचो बढेको बताइएको छ । बितेको दुई वर्ष औपचारिक पूजाअर्चना गरी जात्रा मनाइएको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले बताए । मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बाल्ने गरिन्छ ।

“बर्सेनि पितृलाई बत्ती बाल्ने गर्थे दुई वर्ष पाइन, यो वर्ष फेरि आएँ”, च्याम्राङ्बेँसीका कुलमान स्याङ्तानले भने । उनको परिवारका सबैजना मेला भर्न बिहीबारदेखिनै नमोबुद्ध आएका छन् । विशेष गरी तामाङ र नेवार समुदायका धर्मावलम्बीहरुले मेला भर्ने नमोबुद्धका मूल लामागुरु कान्छा लामाको भनाई छ ।

उनका अनुसार तत्कालीन पञ्चलादेश (पनौती राज्य)का राजा महारथ र रानी सत्यवतीका तीन छोरा पूर्वतर्फको गन्धमान पर्वत (जङ्गल)मा सिकार खेल्ने क्रममा कान्छा राजकुमारले भोकले छटपटिएको सुत्केरी बघिनीलाई आफ्नो रगत र शरीरको मासु काट्दै खुवाएर आफूले देहत्याग गरी जीवन प्रदान गरेका थिए।

सोही विश्वासका आधारमा प्रत्येक कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गरेको हो ।



प्रतिक्रिया दिनुहोस्