Logo

अफ्रिकी नागरिकलाई नेपालमा यात्रा प्रतिबन्ध



काठमाडौं, १२ मंसिर । सरकारले अफिकी मुलुकका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरसको संक्रमण अफ्रिकामा देखिएपछि यात्रा प्रतिबन्ध लगाएको हो ।

गृह मन्त्रालयले अफ्रिकी नागरिकहरुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन अध्यागमन विभाग, त्रिभुवन विमानस्थल र सीमा क्षेत्रका कार्यालयहरुलाई निर्देशन दिएको छ । परिपत्र नै पठाएर यस्तो निर्देशन दिइएको गृहले जनाएको छ । अफ्रिकी महादेशबाट त्यहाँका नागरिक कूटनीतिक, अफिसियल र आपतकालिन कामबाहेक अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेश गर्न पाउनेछैनन् ।

दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको नयाँ प्रजातिको कोरोना भाइरस विश्वका कतिपय देशमा भेटिइसकेको छ । यो प्रजाति कडा खालको भाइरस भएकाले सतर्कता अपनाउन भनिएको छ ।

विश्वका कतिपय देशहरुले अफ्रिकी मुलुकबाट यात्रा प्रतिबन्ध लगाइसकेका छन् । कतिपयले अफ्रिकाबाट आउने यात्रीलाई अनिवार्य क्वारेन्टाइनको नियम लागू गरेको छ ।



प्रतिक्रिया दिनुहोस्