Logo

ऐतिहासिक दरबार निर्माणका लागि महोत्सव हुँदै



काठमाडौं, १७ मंसिर । स्याङ्जाको स्यालबासस्थित ऐतिहासिक दरबार निर्माणका लागि सांस्कृतिक महोत्सव हुने भएको छ। हात्तीस्थान फाउन्डेसन समिटले पुस १५, १६ र १७ मा स्याङ्जा गल्याङकोटदेखि १३ किमि उत्तरमा रहेक स्यालबासस्थित उक्त दरबार निर्माणका लागि हात्तीस्थान–तामेकोट समिट महोत्सव आयोजना गर्न लागेको हो।

करिब साढे सात सय वर्ष पहिले उक्त स्थानमा १४ कोठाको तीन तले तामेकोट दरबार रहेको ईतिहास रहेको छ। अझैं पनि दरबार र ऐतिहासिक ढुङ्गाका अवशेष रहेको उक्त ठाउँमा आलम नामका राजा रहेको बताइन्छ। राजा यौनलिप्त भएर राज्यप्रति बेफिक्री भएपछि रानी बेगमले उनलाई नजरबन्द गरेर सेनापति अर्थमसँग मिलेर राज्य संचालन गरेको कथन रहेको फाउन्डेसनका अध्यक्ष शिवशंकर बस्यालले बताए। पछि भयकोट, चन्द्रकोट र पैयुकोट गरि तीन भुरे राज्यले संयुक्त हमला गरि तामेकोट राज्य नियन्त्रणमा लिएको लोककथा स्थानीयमाझ प्रचलनमा रहेको छ।

उक्त ऐतिहासिक दरबार पुनर्निर्माणका लागि फाउन्डेसनको पहलमा महोत्सव गर्न लागिएको जानकारी बस्यालले दिए। करीब १० करोड रुपैयाँ निर्माण लागत अनुमान गरिएको उक्त दरबार पुनर्निर्माणका लागि गण्डकी प्रदेश सरकार र स्थानीय तहले सहयोग प्रतिवद्धता गरेकोमा केन्द्र सरकारसँग पनि पहल भइरहेको जानकारी फाउन्डेसनले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्