Logo

कांग्रेस १४औँ महाधिवेशन: चार हजार सात सय प्रतिनिधि सहभागी हुँदै



काठमाडौँ, २१ मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने कांग्रेसले जनाएको छ । कांग्रेसका क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार ५६४ पुरुष, एक लाख ९५ हजार ३७२ महिला र १६९ अन्य रहेका छन् ।

कांग्रेसको महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन तयारी मूल समिति, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ सङ्कलन समिति, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा भोजन तथा आवास व्यवस्थापन समिति गठन गरी आवश्यक काम कारबाही प्रारम्भ गरेको छ ।

यसैगरी सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा प्रचारप्रसार समिति, काठमाडौँ जिल्लाका पार्टी सभापतिको संयोजक र ललितपुर र भक्तपुर जिल्ला सभापति सदस्य रहने उद्घाटन समारोह एवं मञ्च व्यवस्थापन समिति, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा स्वास्थ्य समिति, केन्द्रीय सदस्य सीता गुरुङको संयोजकत्वमा सांस्कृतिक समिति, नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल धनबहादुर मास्की रानाको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन समिति गठन गरिएको छ ।

कांग्रेसले उत्साह, एकता र रुपान्तरण, सफल बनाऔँ नेपाली कांग्रेसको १४औँ महाधिवेशन भन्ने प्रचारात्मक नारा पनि तय गरेको छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्