Logo

कांग्रेस नेता नवराज गुरुङद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं, २१ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता नवराज गुरुङले १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता गुरुङले कांग्रेसको १४औं महाधिवेशनमा (आदिवासी/जनजाति) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता गुरुङले आदिवासी जनजातीहरु तथा अन्य समावेशीका जातिहरु सन्तुष्ट नभएको भन्दै पिछडिएका जातिहरुलाई नेपाली कांग्रेसको मुलधारमा ल्याई उनीहरुको बृहत्तर हितमा काम गर्नेको लागि उम्मेदवारी दिन लागेको बताए । उम्मेदवारी घोषणा गर्दै नेता गुरुङले भने, ‘महामन्त्रीमा लड्न पर्ने तपाई पुरानो नेता किन सदस्यमा भनेर साथीहरुले नै भन्ने गरेको छन् । मैले पटक–पटक चुनावमा हार व्योहोर्न परेको पीडा मसँग छ ।’

२०३२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भुमिका निभाएका र ३३ सालमा विपि कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिमा समेत साथ दिएका गुरुङले आफु पुराना नेता भएपनि विविध कारणले विगतमा उम्मेदवार बन्ने परिस्थिति नमिलेर आफु पछाडि परेको बताए ।
उम्मेदवारी पार्टीका साथीहरुको सल्लाहमा दिन लागेको बताउँदै उनले राजनीति भनेको राष्ट्रलाई दिने मात्र हो लिने आश गर्नुहुँदैन् भन्दै आफुले पनि धेरैपटक पार्टीको लागि त्याग गरेको स्मरण गराए ।

गुरुङले मेचीदेखि महाकालीका जनजाती आदिवासीहरुलाई आफुलाई मत दिन आग्रह गर्दै सबैले भोट दिनेमा आफु विस्वस्त रहेको बताए ।
गुरुङ २०४८ सालमा पर्वत क्षेत्र न.१ बाट प्रतिनिधिसभा सदस्यका लागि पार्टीको टिकट पाएका २०५९ सालबाट प्रजातान्त्रिक पर्वतको सभापति र ०६४ बाट ०६७ सम्म एकीकरण पछि कांग्रेसको जिल्ला सभापति, ७० सालमा संविधान सभा सदस्य र ७४ सालमा प्रदेश सभाको उम्मेदवार भई प्रतिस्पर्धामा होमीएका थिए ।

२०२९ सालदेखि नेपाल विद्यार्थी संघ राजनीतिमा सुरु गरेका गुरुङ केन्द्रीय उपाध्यक्ष समेत भएका थिए । गुरुङको नेविसंघमा धेरै योगदान रहेको छ । दुई तिहाईको कम्युनिष्टको सरकार आज आफ्नै कारणले तुहिएको भन्दै जनताको मागअनुसार नै नेपाली कांग्रेसले नेतृत्व उनको भनाई छ । शेरबहादुर देउवाले नचाहाँदा नचाहाँदै पनि सरकारको नेतृत्व गर्नुपरेको उनको भनाई थियो ।

जनजातिको छोराले अब कांग्रेसको नेतृत्व गर्नु पर्ने पनि उनले धारणा राखे । कांग्रेसले हिजो गुमाएको साख अब फेरी पाउने विश्वास रहेको उनले बताए । नेतृत्व तहमा असल व्यक्ति नपुगेमा दलकै अस्तित्व गुम्ने खतरा रहने भन्दै नेतृत्व छनौट गर्दा सोच÷विचार पुर्याउन पर्नेमा उनको जोड थियो । पार्टी सभापति हुने हिम्मत आफुमा रहेको पनि उनले बताए ।

गुरुङले विभिन्न कारणले यसअघि महाधिवेशन रोकिए पनि अब कुनैपनि हालतमा कांग्रेसको १४औं महाधिवेशन नरोकिने विश्वास दिलाए ।
उनले आफ्नो समुदायभित्र नेपाली कांग्रेसको पक्षमा जागरण ल्याउनु आफ्नो मूल एजेण्डा भएको सुनाए ।

 

 



प्रतिक्रिया दिनुहोस्