Logo

काँग्रेस संस्थापन इतर समूहमा कस्ले गर्ला त्याग ?



काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेसको संस्थापन इतर समूहका नेताहरु चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा बैठक बसिरहँदा गणेशमान सिंहको तस्बिर प्रष्ट देखिन्थ्यो । सिंह उनै हुन् जसले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहबाट प्रधानमन्त्री बन्न प्रस्ताव आउँदा त्यागेका थिए । उनले काँग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन राजा वीरेन्द्रसामु आग्रह गरेका थिए ।

सिंहको शालिक सामु उभिएर काँग्रेस संस्थापन इतरका नेताहरुले बैठक बस्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू त्यागका लागि तयार भएको बताए । उनले प्रकाशमान सिंह, डा. सशांक कोइराला र डा. शेखर कोइरालाको नाम लिएरै त्यागको विषय उठाए । तीनजनामध्येबाट एकलाई साझा उम्मेदवार छान्न या आफूलाई साथ दिन आग्रह गरे ।

पौडेलले त्याग गर्ने स्पष्ट भने । महामन्त्री सशांक कोइरालाले पनि त्यागको संकेत गरेको बुझिएको छ । तर, प्रकाशमान सिंह र शेखर कोइराला टसमस भएका छैनन् ।
सिंह आफूले १३औं महाधिवेशनमा सभापति र महामन्त्री दुवै पद त्यागेको स्मरण गराए । जहिले पनि आफूले मात्र त्याग गर्ने ? भन्दै यसपटक आफूलाई साथ दिन आग्रह गरे ।

शेखर कोइरालाले आफ्नो जित्ने आधारबारे तर्क राखे । उनले शक्तिको बाँडफाँड गरेर जाने प्रस्ताव राखे ।

काँग्रेस इतर समूहको पछिल्ला बैठकहरुबाट रामचन्द्र पौडेल र सशांक कोइराला त्याग गर्ने अवस्थामा पुगेको बुझिएको छ । अब प्रकाशमान र शेखरमध्ये एकले त्याग गरे कुरा मिल्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्