Logo

सशांकले गरे रामचन्द्रलाई साझा उम्मेदवार बनाउने प्रस्ताव



काठमाडौं, २१ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरको बैठक एक कदम अघि बढेको छ । आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको बैठकमा सहमति नबनेपनि सकारात्मक दिशातर्फ बढेको छ ।

बैठकमा सभापतिका ४ आकांक्षीमध्ये महामन्त्री डा. सशांक कोइराला पछि हटेका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सिनियरको आधारमा सभापतिको साझा उम्मेदवार बनाउन प्रस्ताव गरे थिए ।

सशांकले आफू त्याग गर्न तयार भएको स्पष्ट पार्दै उमेर र अनुभवका आधारमा पावर सेयरिङ गर्न प्रस्ताव गरेका थिए । यसअघि पौडेलले पनि साझा उम्मेदवार तीनमध्ये तय भए आफू त्याग गर्न तयार रहेको बताएका थिए ।

तर, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सहमतिका लागि तयार भएनन् । दुवै सभापतिको उम्मेदवारीबाट पछि नहट्ने अडानमा अडिए ।
सिंहले पौडेललाई यसअघि त्याग गरेको र महामन्त्रीमा कोइरालालाई साथ दिएको स्मरण गराउँदै अब आफूलाई गर्न आग्रह गरे । डा. शेखर कोइरालाले पनि देशभर आफ्नो पक्षमा माहोल रहेको दाबी गरे । अब सिंह र कोइरालामध्येमा सहमति भएमा भोलिभित्र कुरा मिल्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्